जनकपुरधाम , भदौ ६ । जनकपुरधाममा अतिक्रमणमा परेका गुठीका जग्गा खाली गराउने अभियान सुरु भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा अतिक्रमित पोखरीका डिल खाली गराउन डोजर परिचालन गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–६ स्थित गिरनारी पोखरीको अतिक्रमित डिल खाली गराउने कामबाट अभियान सुरु गरिएको छ । गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिले अतिक्रमित संरचना हटाउन डोजर परिचालन गरेको हो ।
समितिका सदस्य–सचिव जनक पोखरेलका अनुसार शुक्रबार नै जनकपुरधामका सात वटा पोखरीको अतिक्रमण हटाउने तयारी गरिएको छ । उनका अनुसार अतिक्रमित ठाउँ खाली गर्न गत साउन १ गते नै सम्बन्धित पक्षलाई सूचना जारी गरिएको थियो ।
पोखरेलले पहिलो चरणमा पहिचान गरिएका ५० वटा अतिक्रमित पोखरीलाई अतिक्रमणमुक्त गराउने योजना रहेको बताए । त्यसपछि मन्दिर परिसरमा रहेका अतिक्रमण हटाउने र तेस्रो चरणमा अन्य गुठी जग्गाको अतिक्रमण हटाउने गरी कार्ययोजना बनाइएको छ ।
जनकपुरधामका गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने क्रममा २०६२ सालमा गठित भोजराज घिमिरे नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार बनाइएको समितिले जनाएको छ ।
लामो समयदेखि अतिक्रमणमा रहेका गुठीका जग्गा तथा सार्वजनिक पोखरी संरक्षणका लागि अभियान सञ्चालन गरिएको हो । अभियानले निरन्तरता पाए जनकपुरधामका ऐतिहासिक पोखरी, मन्दिर तथा गुठी सम्पत्तिको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






