महोत्तरी, भदौ ६ । सीमा सुरक्षा तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल र भारतका सुरक्षा अधिकारीबीच समन्वय बढाउने सहमति भएको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा शनिबार नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक सम्पन्न भएको हो । बैठकमा नेपालतर्फ महोत्तरी, सर्लाही र रौतहटका तथा भारततर्फ सीतामढी जिल्लाका सुरक्षा अधिकारी सहभागी थिए ।
बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा रोकथाम, लागूऔषध ओसारपसार नियन्त्रण, सीमा स्तम्भको संरक्षण, अवैध हातहतियारको ओसारपसार तथा सीमावर्ती क्षेत्रमा हुने अन्य आपराधिक गतिविधिबारे छलफल भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सीमामा दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्तीलाई थप विस्तार गर्ने तथा सीमा अपराधसँग सम्बन्धित घटनाबारे तत्काल सूचना आदानप्रदान गर्ने विषयमा समेत सहमति भएको उनले बताए ।
भारतको सीतामढीका जिल्ला मजिस्ट्रेट (डीएम) तनय सुलतानियाले सीमावर्ती क्षेत्रमा सुरक्षा कायम गर्न दुवै देशका सुरक्षाकर्मीबीच भइरहेको सहकार्यको प्रशंसा गरे । उनले सीमा स्तम्भको रेखदेख तथा मर्मतसम्भार, अपराध नियन्त्रण र मानव तस्करी रोकथामका विषयमा पनि छलफल भएको बताए ।
सुलतानियाका अनुसार बैठकमा लागूऔषध ओसारपसार, मानव तस्करी, सीमा सुरक्षा, सीमा स्तम्भको मर्मतसम्भार, बाढी नियन्त्रणलगायतका सामाजिक तथा सुरक्षा विषयमा छलफल भएको थियो ।
उनले आगामी दिनमा लागूऔषध नियन्त्रण र आपराधिक गतिविधिसम्बन्धी सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउन विशेष टोली गठन गर्ने विषयमा समेत सहमति भएको जानकारी दिए ।
नेपाल र भारतका चारवटै सीमावर्ती जिल्लाबीच सुरक्षा समन्वय पछिल्ला दिनमा थप प्रभावकारी हुँदै गएको उनको भनाइ थियो ।
बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया तथा सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनलगायत सुरक्षा अधिकारीको सहभागिता थियो ।
बैठकले सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण, लागूऔषध तथा मानव तस्करी रोकथाम र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल–भारत सुरक्षा निकायबीच नियमित समन्वय र सूचना आदानप्रदानलाई निरन्तरता दिने वातावरण तयार गरेको सहभागी अधिकारीहरूले बताएका छन् ।






