एजेन्सी, भदौ ७। अमेरिकाले इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहेका बेला इरानले त्यस्ता प्रतिबन्धलाई संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रमाथि युद्ध घोषणा गरेसरह मानिने चेतावनी दिएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सामाजिक सञ्जाल एक्समार्फत नयाँ प्रतिबन्धका लागि अन्तर्राष्ट्रिय कानुनमा कुनै आधार नरहेको बताएका छन्। उनले अमेरिकी कदमलाई अन्य राष्ट्रमाथि आफ्नो प्रभुत्व थोपर्ने प्रयासका रूपमा टिप्पणी गरेका छन्।
अमेरिकाका वाणिज्य मन्त्री स्कट बेसन्टले सोमबार इरानविरुद्ध अहिलेसम्मकै कडा प्रतिबन्ध घोषणा गर्न सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनले चीनलाई समेत प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्।
इरानमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकी तयारीप्रति चीनले भने असहमति जनाएको छ। चीनले प्रतिबन्धले पश्चिम एसियाको संकट समाधान नहुने भन्दै विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।
चीन इरानको प्रमुख तेल खरिदकर्ता हो। इरानी तेलको ठूलो हिस्सा चीनले खरिद गर्दै आएको छ।
पछिल्लो समय जारी तनाव र अमेरिकी दबाबका बाबजुद इरानले आफ्नो अडान परिवर्तन गरेको छैन। दुई देशबीच शान्ति वार्ताको प्रयास भए पनि त्यसले अहिलेसम्म ठोस परिणाम दिन सकेको छैन।
इरानी सेनाका प्रमुख मेजर जनरल अली अब्दुल्लाहीले कुनै पनि शत्रुतापूर्ण धम्कीको जवाफ सैन्य कारबाहीबाट दिइने चेतावनी दिएका छन्। उनले इरानमाथि हुने कुनै पनि आक्रमणको जवाफ कडा हुने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान सम्झौता गर्न चाहिरहेको दाबी गर्दै आएको भए पनि आफ्नो दृष्टिकोणमा उचित सम्झौताका लागि तेहरान अझै तयार नरहेको बताएका छन्।
अमेरिका र इरानबीच रणनीतिक महत्वको होर्मुज जलडमरूमध्यलाई लिएर पनि दाबी–प्रतिदाबी जारी छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले होर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका छन्। अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटका अनुसार पछिल्लो एक सातामा अमेरिकी सेनाले दैनिक करिब ८० लाख ब्यारेल तेल बोकेका जहाजलाई होर्मुज पार गर्न सहयोग गरेको थियो।
तर जहाज आवागमनसम्बन्धी तथ्यांकले भने फरक अवस्था देखाएको छ। युद्ध सुरु हुनुअघि होर्मुजबाट दैनिक करिब दुई करोड ब्यारेल कच्चा तेल ओसारपसार हुने गरेकोमा पछिल्लो समय आवागमन निकै घटेको बताइएको छ।
यसैबीच इरानले इराकी तेल ट्यांकरलाई होर्मुज हुँदै आवतजावत गर्न विशेष अनुमति दिएको छ।
होर्मुज जलडमरूमध्यको व्यवस्थापनमा इरान र ओमानबीच सहकार्यको सम्भावनाबारे छलफल भइरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाका लागि ओमानका राजदूत तलाल अल–रहबीसँग भेटवार्ता गरेका छन्।
भेटमा दुई देशबीचका साझा हित तथा क्षेत्रीय विषयमा छलफल भएको बताइएको छ। यसअघि ट्रम्पले अमेरिका र इरानबीच ओमानले हस्तक्षेप गरे त्यसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।
यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्डसँग सम्बद्ध बसीज संगठनका प्रमुख होज्जतोलइस्लाम तइबले अमेरिकी सैन्य अभियानले अमेरिकी सेनाको कमजोरी उजागर गरेको दाबी गरेका छन्।
उनले इरानले अमेरिकी दबाबको सामना गर्दै युद्धविराम र शान्ति वार्तातर्फ अघि बढ्न बाध्य बनाएको दाबीसमेत गरेका छन्।
अमेरिका र इरानबीच प्रतिबन्ध, सैन्य धम्की तथा होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर बढिरहेको तनावले पश्चिम एसियाको सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिमाथि थप असर पर्न सक्ने चिन्ता बढेको छ।




