ओम प्रकाश यादव
रौतहट, भदौ १० । रौतहटको गढीमाई नगरपालिका–९ इनर्वामा ब्रह्मबाबा मन्दिर निर्माणका क्रममा दुई पक्षबीच विवाद चर्किएको छ। मन्दिर निर्माणाधीन संरचनामा रातिको समयमा तोडफोड गरी क्षति पुर्याइएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।
त्यसपछि आक्रोशित स्थानीयवासीले मन्दिर निर्माणमा अवरोध गरेको आरोप लागेका केही स्थानीयको घरमा समेत तोडफोड गरेका छन्।
स्थानीयका अनुसार चन्दा तथा सहयोग संकलन गरी निर्माण गर्न लागिएको ब्रह्मबाबा मन्दिरको पिलर र टाइबिम अज्ञात व्यक्तिले रातिको समयमा तोडफोड गरी भत्काइदिएका हुन्। घटनापछि गाउँमा विवाद थप चर्किएको हो।
स्थानीयका अनुसार ब्रह्मबाबा मन्दिरको जग्गा वर्षौंदेखि केही व्यक्तिले कब्जा गरी राखेका थिए। केही दिनअघि मन्दिरको छेउमा रहेको पीपलको रुख अचानक मन्दिरतर्फ ढलेपछि मन्दिरको संरचनामा क्षति पुगेको थियो।
त्यसपछि स्थानीयवासी भेला भएर सोही स्थानमा नयाँ मन्दिर निर्माण गर्ने तथा मन्दिरको अतिक्रमित जग्गा खाली गराउने सहमति गरेका थिए।
स्थानीयको बैठकले महेन्द्र प्रसाद यादवको अध्यक्षतामा ब्रह्मबाबा मन्दिर निर्माण समिति गठन गर्ने निर्णय गरेको थियो। समितिले मन्दिरको करिब तीन कठ्ठा अतिक्रमित जग्गा खाली गराउन सफल भएको र पुरानो तथा खाली गराइएको जग्गामा मन्दिर निर्माणको काम अघि बढाएको बताइएको छ।
तर, मन्दिर निर्माणको काम अघि बढिरहेका बेला गत सोमबार राति अज्ञात व्यक्तिले मन्दिरका पिलर तथा टाइबिम तोडफोड गरी संरचना भत्काएको आरोप छ। मन्दिरको संरचनामा तोडफोड भएको खबर फैलिएपछि भोलिपल्ट गाउँलेहरू आक्रोशित भएका थिए।
आक्रोशित स्थानीयवासीले मन्दिरको संरचना तोडफोडमा संलग्न भएको आशंका गरिएका शंकर साह, उनका छोरा राकेश साह, विवेक साहलगायतका व्यक्तिका घरमा तोडफोड गरी क्षति पुर्याएको बताइएको छ।
घटनाबारे बुधबार पत्रकार सम्मेलन गर्दै ब्रह्मबाबा मन्दिर निर्माण समितिका अध्यक्ष महेन्द्रप्रसाद यादवले मन्दिरको अझै केही जग्गा स्थानीय शंकर साह, उनका छोरा राकेश साह, गम्भीरा साहलगायतका व्यक्तिले कब्जा गरी राखेको आरोप लगाए।
अध्यक्ष यादवका अनुसार उनीहरूले वर्षौंदेखि मन्दिरको जग्गा हडपेर राखेका थिए। पटक–पटकको छलफल र सहमतिपछि केही जग्गा खाली गरिए पनि अझै केही जग्गा खाली गर्न बाँकी रहेको उनले बताए।
शंकर साह र राकेश साहले खाली गरेको जग्गामै अहिले मन्दिरको कम्पाउन्ड वाल निर्माणको काम भइरहेको अध्यक्ष यादवले बताए।
सोही जग्गा खाली गराएको रिसका कारण मन्दिर निर्माण हुन नदिने मानसिकताका साथ शंकर साह, राकेश साहलगायतका व्यक्तिले कम्पाउन्ड वालका पिलर तोडफोड गरी क्षति पुर्याएको उनले आरोप लगाए।
यादवले मन्दिरको जग्गा कब्जा गरेर घर बनाएका व्यक्तिलाई पटक–पटक जग्गा खाली गर्न आग्रह गरिएको दाबी गरे। तर, जग्गा खाली गर्नुको सट्टा मन्दिर निर्माणमै अवरोध सिर्जना गर्ने उद्देश्यले निर्माणाधीन संरचना तोडफोड गरिएको उनको आरोप छ।
यद्यपि, तोडफोडमा को–को संलग्न थिए भन्ने विषयमा आधिकारिक अनुसन्धान तथा पुष्टि हुन बाँकी छ।
मन्दिर निर्माण समितिका सचिव तथा वडा सदस्य जगदीश पण्डितले पनि मन्दिरको जग्गा खाली गर्ने विषयमा पटक–पटक छलफल भएको बताए।
उनका अनुसार शंकर साह, राकेश साहलगायतका व्यक्तिहरूले अतिक्रमित जग्गा खाली गर्ने सम्बन्धमा भएको बैठकको निर्णयमा हस्ताक्षरसमेत गरेका थिए। तर, अहिले आफूहरूले स्वीकार गरेको सहमतिबाट पछि हटेपछि स्थानीयवासी आक्रोशित बनेको उनले बताए।
पण्डितका अनुसार मन्दिरको संरचनामा तोडफोड भएपछि तत्कालका लागि निर्माण कार्य रोकिएको छ। घटनालाई लिएर प्रशासनसँग छलफल गरेपछि मात्रै मन्दिर निर्माणको काम पुनः अघि बढाइने उनले बताए।
उनले मन्दिरको जग्गा अतिक्रमण गरी घर तथा अन्य संरचना निर्माण गर्ने कार्यको छानबिन गरी अतिक्रमित जग्गा खाली गराउनुपर्ने मागसमेत गरे।
मन्दिर निर्माण समितिले घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गौरमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ।
ज्ञापनपत्रमार्फत मन्दिरको अतिक्रमित जग्गा खाली गराउन, निर्माणाधीन संरचनामा तोडफोड गर्ने दोषीको पहिचान गरी कारबाही गर्न तथा मन्दिर निर्माणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन माग गरिने सचिव पण्डितले बताए।
मन्दिरको संरचना तोडफोडपछि स्थानीयवासीले केही व्यक्तिको घरमा समेत तोडफोड गरेको घटनाले विवाद थप संवेदनशील बनेको छ।
सार्वजनिक धार्मिक संरचना निर्माण र जग्गा अतिक्रमणसम्बन्धी विवादमा स्थानीयस्तरमै तनाव बढ्दै गएपछि घटनाको निष्पक्ष छानबिन गरी कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ।
मन्दिर निर्माण समितिले एकातर्फ अतिक्रमित जग्गा खाली गराएर धार्मिक संरचना निर्माण गर्न खोजिएको दाबी गरेको छ भने अर्को पक्षको भनाइ तथा घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
त्यसैले मन्दिरको संरचना तोडफोड तथा स्थानीयका घरमा भएको क्षतिबारे सम्बन्धित निकायबाट हुने अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुने देखिन्छ।







