काठमाडौं, भदौ १५ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिको समयमा नेपाललाई आवश्यक सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका छन्।
नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेका सिंहले त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति समवेदना प्रकट गरेका हुन्।
भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय तथा अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरे।
सिंहले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना र समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
उनले विपत्तिपछि नेपालमा भइरहेको खोज तथा उद्धारका साथै पुनर्स्थापनाका प्रयासमा भारतले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै सिंहले कठिन परिस्थितिमा भारत नेपालसँगै रहने सन्देश दिएका छन्।
रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समार्फत पनि नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपालमा बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि आवश्यक मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको सिंहले बताएका छन्।






