रुपन्देही, भदौ १६ । भदौ १० गते आएको बाढीमा बगेर नारायणी नदी हुँदै पश्चिम नवलपरासीका विभिन्न स्थानमा फेला परेका शवको व्यवस्थापन सुरु गरिएको छ। सोमबार मात्रै ४५ शव अलकत्रा डाँडामा व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी मदन थापाका अनुसार हालसम्म ४५ शवको व्यवस्थापन भइसकेको छ। शवको पहिचानका लागि डीएनए परीक्षणको नमुना संकलनलगायत आवश्यक प्रक्रिया भने जारी छ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयपछि सुनवल नगरपालिका–४ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडामा शव व्यवस्थापन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए। आवश्यक मापदण्ड पूरा गरेर शव व्यवस्थापनको काम अघि बढाइएको उनले बताए।
जिल्ला प्रहरी कार्यालयको अभिलेखअनुसार सोमबार बिहानसम्म नवलपरासीका विभिन्न स्थानबाट १५५ शव तथा शरीरका अंग फेला परेका छन्। फेला परेका शवको पहिचानका लागि परासी र बुटवलस्थित अस्पतालमा डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ।
पश्चिम नवलपरासीमा फेला परेका शवमध्ये केही पृथ्वीचन्द्र अस्पताल परासी, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा र कपिलवस्तुको पिपरा अस्पतालमा राखिएका छन्। अस्पतालहरूमा शव पहिचान तथा परिचय कक्ष स्थापना गरी आफन्तको खोजीमा आउने व्यक्तिलाई आवश्यक जानकारी उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।
आफन्तले शव तथा तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था गरिएको छ। पहिचानका क्रममा आवश्यक परे डीएनए परीक्षणबाट समेत यकिन गरिने जनाइएको छ।
शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको छ। सोमबार व्यवस्थापन गरिएका ४५ शवमध्ये पृथ्वीचन्द्र अस्पताल परासीमा रहेका २० र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रहेका २५ शव रहेको डीएसपी थापाले बताए।
पृथ्वीचन्द्र अस्पतालमा मात्रै अहिले ७० भन्दा बढी शव रहेको जनाइएको छ। ती शवको डीएनए परीक्षण गरी क्रमशः व्यवस्थापनका लागि पठाउने काम भइरहेको छ।
प्रहरीका अनुसार शवलाई नम्बरका आधारमा अभिलेखमा राखिएको छ। यसले भविष्यमा आफन्तले आफ्नो परिवारका सदस्यसँग सम्बन्धित शव पहिचान गर्न सहज हुने जनाइएको छ।
पृथ्वीचन्द्र अस्पतालका दुई जना र बुटवलका एक जना गरी तीन जना फरेन्सिक चिकित्सकबाट डीएनए परीक्षणको प्रक्रिया अघि बढिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। बृज यादवले जानकारी दिए।
बाढीपछि गण्डक क्षेत्रमा सोमबार बिहानसम्म १५५ शव फेला परिसकेको प्रहरीले जनाएको छ। तीमध्ये अधिकांश शव पहिचान गर्न कठिन हुने अवस्थामा रहेको प्रहरीको भनाइ छ।






