मधेशको जलस्रोत र जलवायु अनुकूलनबारे प्रदेश नीति आयोगसँग छलफल



जनकपुरधाम, भदौ १६ । मधेश प्रदेशको जलस्रोत व्यवस्थापन तथा जलवायु अनुकूलनका विषयमा प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) बीच छलफल भएको छ।

मंगलबार जनकपुरधामस्थित प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष राजकुमार सिंहको उपस्थितिमा यूएनडीपीका साझेदारी तथा सञ्चार विश्लेषक तामोई फुजीलगायतको टोलीसँग छलफल भएको हो।

छलफलमा मधेश प्रदेशका प्रमुख जलस्रोत, जलक्षेत्रको रणनीतिक व्यवस्थापन, जलस्रोतको नक्साङ्कन, सिँचाइ तथा खानेपानीको अभाव, खडेरीजन्य समस्या र कृषि उत्पादकत्वका पछिल्ला प्रवृत्तिबारे छलफल गरिएको आयोगका उपाध्यक्ष सिंहले जानकारी दिए।

मधेश प्रदेशका चुनौती, समस्या र आवश्यकताको पहिचान गरी विकास साझेदार संस्थासँगको समन्वयमा आगामी कार्यक्रम अघि बढाइने उनले बताए।

उपाध्यक्ष सिंहले प्रदेशमा आवश्यक योजना निर्माणका लागि भरपर्दो तथ्यांकको अभाव रहेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयसँग तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए।

उनका अनुसार ऊर्जा, सिँचाइ तथा खानेपानी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग समेत छलफल गरी आगामी कार्ययोजना तयार गरिनेछ।

यसअघि विकास साझेदार संस्थाहरूले आफ्नै पहलमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि अब प्रदेश सरकारसँग समन्वय गरी आवश्यकतामा आधारित योजना निर्माण गर्ने नीति लिइएको सिंहले बताए। त्यसका आधारमा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० समेत तयार गरिनेछ।

छलफलमा जलवायु अनुकूल प्रविधिको प्रयोग तथा संघीय सरकार, विश्व बैंक, एसियाली विकास बैंक, यूएनडीपीलगायत द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट सञ्चालित र वित्तपोषित परियोजनाबारे पनि छलफल भएको थियो।

मधेश प्रदेशमा जलस्रोतको दिगो तथा प्रभावकारी व्यवस्थापन, जलवायु परिवर्तनका प्रतिकूल प्रभाव न्यूनीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न आवश्यक नीति, योजना तथा लगानीका प्राथमिकता निर्धारणमा छलफल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १६, मंगलवार १६:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको