रसुवाको बाढीमा हालसम्म १ हजार २९३ शव फेला



काठमाडौं, भदौ २०। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार २९३ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो २ बजेसम्म रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा १९४ जनाको शव फेला परेको छ। भारतमा फेला परेर नवलपरासी पश्चिममा बुझाइएका १८ शवसमेत जोड्दा मृतकको संख्या १ हजार २९३ पुगेको हो।

यसैबीच बाढीमा घाइते भएकामध्ये उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये एक जनाको त्रिवि शिक्षण अस्पताल र अर्का एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।

फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म २२२ महिला, ३५५ पुरुष र पहिचान खुल्न नसकेका ४५३ गरी १ हजार ३० शव व्यवस्थापन गरिएको छ।

शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका ८४६ गरी कुल २ हजार १०६ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन बाँकी १ हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ। अझै ४ हजार ८९८ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ६५५ जनालाई राखिएको छ। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार, खोजी र अवरुद्ध सडक तथा बाटो खुलाउने कामसमेत जारी राखेको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार ०७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको