काठमाडौँ, भदौ २०। बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलमा फसेका एक चिनियाँ नागरिकको ११ दिनपछि सकुशल उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाबाट आएको विपद् विज्ञ टोलीको संयुक्त प्रयासमा टनेलभित्र फसेका चिनियाँ नागरिकको केहीबेरअघि उद्धार गरिएको हो।
उद्धार गरिएका व्यक्तिलाई आवश्यक उपचार तथा स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकतर्फ ल्याइँदै गरिएको जनाइएको छ।
भदौ १० गते आएको बाढीपछि ती व्यक्ति टनेलभित्र फसेका थिए। बाढी गएको ११औँ दिनमा उद्धार सम्भव भएको हो।
लामो समयदेखि टनेलभित्र फसेका व्यक्तिको सकुशल उद्धार भएपछि उद्धार टोलीले महत्वपूर्ण सफलता हासिल गरेको छ। बाढीका कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ।






