काठमाडौँ, भदौ २० । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारका राम्रा काममा आफ्नो सहयोग र समर्थन रहने, तर गलत कामको भने विरोध र आलोचना गर्ने स्पष्ट नीति रहेको बताए।
उनले पछिल्लो राजनीतिक परिस्थितिले आफूहरूलाई सन्तुष्ट बनाउने अवस्था नरहेको संकेत गर्दै राज्यका विभिन्न निकायको भूमिकाका कारण ‘लक्षण राम्रो नदेखिएको’ टिप्पणी गरे।
प्रचण्डले भने, “नेपाली राजनीति, कर्मचारीतन्त्र र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ। सुरुदेखि हामीले भन्दै आएका छौँ– राम्रो गर्नुस्, सहयोग र समर्थन हुन्छ। नराम्रो गर्दा आलोचना, टिप्पणी र विरोध हुन्छ। अहिले पनि हाम्रो यही भनाइ हो। तर लक्षण राम्रो देखिएको छैन।”
पूर्वप्रधानमन्त्री प्रचण्डले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, नागरिक समाज तथा सचेत नागरिकलाई राष्ट्र र जनताप्रति थप गम्भीर तथा जिम्मेवार भएर काम गर्न आग्रह गरे।
उनले राष्ट्रको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरि राख्नुपर्नेमा जोड दिए। लामो संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ छ।
“सबैभन्दा ठूलो कुरा राष्ट्र नै हो। हामी सबैले राष्ट्रको स्वाधीनता, देशको अखण्डता र लामो संघर्षबाट प्राप्त स्वतन्त्रता तथा लोकतन्त्रको रक्षामा केन्द्रित हुन आवश्यक छ,” प्रचण्डले भने।






