देउवा समूहमा विभाजनको संकेत, पूर्णबहादुर र शेखर गगनसँग सहमतिको प्रयासमा



काठमाडौं, भदौ २१ । नेपाली कांग्रेसभित्र समानान्तर महाधिवेशनको तयारी भइरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षमा विभाजनको संकेत देखिएको छ। पार्टी विभाजनको विपक्षमा रहेका नेताहरू सभापति गगन थापासँग सहमतिको प्रयासमा अघि बढेपछि देउवा समूह कमजोर बन्दै गएको देखिएको हो।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइराला संस्थापन पक्षसँग संवादमा जोडिएका छन्। उनीहरू पार्टी विभाजनको बाटोमा जानुभन्दा सहमतिमार्फत एकताको महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन्।

कांग्रेसका एक पदाधिकारीका अनुसार खड्का र कोइरालासँग भइरहेको छलफल सकारात्मक दिशामा अघि बढेको छ। सहमति बनेमा वडा अधिवेशन केही दिन सारेर भए पनि सबै पक्षलाई समेट्ने तयारी भइरहेको छ।

खड्काले केही समयदेखि देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा हुने बैठकमा सहभागी हुन छाडेका छन्। उनले आफ्नै निवासमा आफूनिकट नेताहरूसँग छलफल गर्दै पार्टी विभाजन रोक्नुपर्ने धारणा राख्दै आएका छन्।

नेता रामहरि खतिवडाले पनि आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको र एकताको महाधिवेशनमार्फत अघि बढ्नुपर्ने बताएका छन्। उनका अनुसार शेखर कोइरालासँग पनि निरन्तर संवाद भइरहेको छ।

यसअघि कोइरालाले आयोजना गरेको बैठकमा गगन थापाले मनोनीत गरेका केन्द्रीय सदस्यसहित देउवा पक्षका नेताहरू सहभागी भएका थिए। उक्त बैठकले पनि पार्टी विभाजनमा नजाने निष्कर्ष निकालेको थियो।

यता, कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टी एकता जोगाउन आफूहरू लचक हुन तयार रहेको बताएका छन्। उनका अनुसार सबै पक्षबीच संवादमार्फत एकताको महाधिवेशनको वातावरण बनाउन प्रयास भइरहेको छ।

तर देउवा पक्षका नेता डा। प्रकाशशरण महतले भने सभापति गगन थापाबाट पार्टी एकता जोगाउन गम्भीर प्रस्ताव नआएको आरोप लगाएका छन्। सदस्यता अद्यावधिक, केन्द्रीय समिति समायोजनलगायतका विषयमा सहमति हुनुपर्ने उनको भनाइ छ।

देउवा पक्षकै नैनसिंह महर, रञ्जित कर्णलगायत नेताहरू पनि पार्टी विभाजन रोक्नुपर्ने भन्दै गगनसँग नजिकिँदै गएको बताइएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार ०७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको