काठमाडौं, भदौ २२ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेबीच टेलिफोन संवाद भएको छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको धनजनको क्षतिबारे चासो राख्दै विदेशमन्त्री रुबियोले लामिछानेसँग टेलिफोन वार्ता गर्नुभएको हो।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार वार्ताका क्रममा रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो। उहाँले विपद्को यस कठिन समयमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकाको दृढ ऐक्यबद्धता रहेको बताउनुभएको थियो।
वार्तामा सभापति लामिछानेले नेपाल सरकारले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि उपलब्ध स्रोतसाधन परिचालन गरिरहेको जानकारी अमेरिकी विदेशमन्त्रीलाई गराउनुभएको थियो।
लामिछानेले नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा र हितप्रति समेत सरकार गम्भीर र प्रतिबद्ध रहेको बताउनुभएको थियो।
संकटको समयमा अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति लामिछानेले रुबियोलाई धन्यवाद दिँदै आभार व्यक्त गर्नुभएको थियो।
जवाफमा अमेरिकी विदेशमन्त्री रुबियोले विपद्को यस घडीमा नेपाल सरकारलाई थप सहयोग गर्न अमेरिका सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।






