काठमाडौं, भदौ २२। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालसहित जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको आवाज सुन्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाली तथा पारिस्थितिकीय रूपमा संवेदनशील मुलुकहरूमा जोखिम बढ्दै गएको बताए । उनले जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रका लागि ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।
राष्ट्रपति पौडेलले नेपालको हिमाली पर्यावरण अत्यन्त संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै विश्वव्यापी तापक्रम वृद्धिले थप चुनौती सिर्जना गरिरहेको बताए ।
उनले भने, “यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत गराएको छ।”
नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न आग्रह गर्दै राष्ट्रपति पौडेलले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय स्तरबाट ठोस पहल आवश्यक रहेको बताए ।
राष्ट्रपति पौडेलले नेपालले विगतदेखि नै भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्दै आएको स्मरण गरे । यस्ता कठिन परिस्थितिमा नेपाली जनताले साहस, धैर्य, संयम र दृढताका साथ सामना गर्दै आएको उनले बताए ।
उनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जोखिममा रहेका मुलुकहरूको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।






