काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन राष्ट्रियसभा गृह, प्रदर्शनी मार्गमा हुने भएको छ।
महाधिवेशनका लागि असोज १५ देखि २० गतेसम्म राष्ट्रियसभा गृह उपलब्ध गराइदिन कांग्रेसले सम्बन्धित निकायलाई पत्राचार गरेको छ। पार्टीका मुख्यसचिव कावा कृष्णप्रसाद दुलालले उक्त अवधिका लागि हलको व्यवस्था मिलाउन पत्र पठाएका हुन्।
कांग्रेसले यसअघि नै १५औँ महाधिवेशन असोज १५ देखि २० गतेसम्म गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनको तयारीका क्रममा तल्लो तहका अधिवेशनको कार्यतालिकामा भने केही हेरफेर गरिएको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले तल्लो तहका अधिवेशनको कार्यतालिका संशोधन गरे पनि केन्द्रीय महाधिवेशन भने तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गरेको हो।
महाधिवेशनस्थलको टुंगो लागेसँगै कांग्रेसले आवश्यक व्यवस्थापन तथा तयारीका कामलाई अघि बढाएको छ। राष्ट्रियसभा गृहमा हुने महाधिवेशनका लागि पार्टीले आवश्यक पूर्वाधार तथा व्यवस्थापनको तयारीसमेत अघि बढाउने जनाएको छ।






