संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि आरपारको संघर्ष गर्ने अग्रगामी मोर्चाको उद्घोष



जनकपुरधाम, भदौ २७ । नौ दलीय अग्रगामी मोर्चाले संघीयता, समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय र मधेशी जनताको अधिकार सुनिश्चित गर्न आरपारको सशक्त संघर्ष गर्ने उद्घोष गरेको छ।

जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय बृहत् भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाका शीर्ष नेताहरुले मोर्चा सत्ताको लागी नभई जनआन्दोलन, सशस्त्र विद्रोह र मधेश आन्दोलनका उपलब्धिहरुको रक्षाका लागि आरपारको संघर्ष गर्नु पर्ने बेला आइ सकेको बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश स्थापना भए पनि शासन प्रशासन सहितको राज्य बन्न नसकेको उल्लेख गर्दै मधेशी जनताको पूर्ण अधिकार सुनिश्चितताका लागि संघर्षको विकल्प नरहेको बताउ ।

उनले मधेशी जनताको आफ्नै शासन–प्रशासन, कानुन र भाषासम्बन्धी अधिकार सुनिश्चित नभएसम्म अधिकारको लडाइँ पूरा नहुने धारणा राख्दै । मधेशी जनताको भाषा, संस्कृति, पहिचान र रहनसहनमाथि लामो समयदेखि विभेद हुँदै आएको र राज्यले मधेशी जनतालाई मतदाता र करदाताका रूपमा मात्र हेरेको टिप्पणी गरे ।

अध्यक्ष यादवले वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै यसबाट धेरै आशा गर्न नसकिने बताए । चुनावका बेला संघीयता बलियो बनाउने प्रतिबद्धता जनाए पनि सरकारले संविधान संशोधनको विषयमा पछाडि हटेको उनको आरोप थियो।

यादवले जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै निर्वाचन प्रणाली परिवर्तन गरी समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताउनुभयो। विद्यमान निर्वाचन प्रणाली भ्रष्टाचारको प्रमुख कारणमध्ये एक रहेको उनको दाबी थियो।

उनले छठ पर्वपछि पनि मधेशी जनताले न्याय र अधिकार प्राप्त गर्न नसके अग्रगामी मोर्चाले थप सशक्त आन्दोलन अघि बढाउने चेतावनी समेत दिए ।

कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले नेपाली जनताको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्न अग्रगामी मोर्चा निर्माण गरिएको बताए ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने मधेशी जनता नै राष्ट्रवादका वास्तविक पहरेदार भएको टिप्पणी गर्दै उनले अधिकार माग्ने मधेशीलाई विदेशी ठान्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्राप्त उपलब्धिको संरक्षण र थप अधिकार प्राप्तिका लागि मोर्चा निर्माण गरिएको बताए। मोर्चालाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन आबद्ध दलका नेताहरू इमानदारीपूर्वक अघि बढ्नुपर्ने उनको भनाइ थियो।

डा. राउतले वर्तमान सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाउँदै आफूहरू नेतृत्व लिन तयार रहेको उल्लेख गरे । मधेशमा लामो समयदेखि संघर्ष गरेका कांग्रेस र एमालेका नेताहरूले समेत अधिकार सुनिश्चित गर्न नसकेको अवस्थामा सेनाको बलमा बनेको सरकारबाट अधिकार प्राप्त हुने अपेक्षा गर्नु ‘दिवास्वप्न’ भएको उनले टिप्पणी समेत गरेका थिए ।

आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले राज्य सञ्चालन गर्ने नेतृत्वको बेइमानीका कारण पटक–पटकका आन्दोलनबाट जनताले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए ।

राज्यले विभिन्न समयमा गरेका सम्झौता कार्यान्वयन नगर्दा जनता पीडित हुँदै आएको बताउँदै साहले ‘फेक शासन’ र ‘दलालतन्त्र’को भण्डाफोर गर्दै प्रणाली सुधारका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवानले समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय, सुशासन र आर्थिक समृद्धिका पक्षमा अग्रगामी शक्तिहरूबीच एकता र सहकार्यलाई मजबुत बनाउने बताएका थिए । उनले परिवर्तनका पक्षधर शक्तिहरूलाई मोर्चामा आबद्ध हुन आह्वान समेत गरे ।

बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकरले मधेशी जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीयतालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए । संघीयता, समानुपातिक प्रतिनिधित्व र सुशासनलाई संस्थागत गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु मोर्चाको मुख्य उद्देश्य रहेको उनको कथन थियो ।

जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका पूर्वगृह, सञ्चार तथा कानुनमन्त्री विमला अन्सारीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा अग्रगामी मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू, नेता–कार्यकर्ता तथा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीबाट आएका समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८३ भाद्र २७, शनिबार १८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको