ओम प्रकाश यादव
रौतहट, भदौ २८ । नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र प्रसाद यादवले फतुवा विजयपुर नगरपालिकाभित्र सञ्चालित चारवटा क्रसर उद्योगमध्ये एउटामा आफ्नो व्यावसायिक सेयर (लगानी) रहेको स्वीकार गर्दै कानुनसम्मत रूपमा व्यवसाय गर्नु अपराध नभएको बताएका छन्।
आफ्नो चरित्र र निष्ठामाथि नियोजित रूपमा भ्रामक तथा आधारहीन आरोप लगाइएको दाबी गर्दै यादवले उद्यमशीलता र व्यवसायमार्फत रोजगारी सिर्जना गर्नु गलत नभएको स्पष्ट पारेका हुन्।
यादवले जारी गरेको वक्तव्यमा राजनीतिक प्रतिशोधका कारण आफूमाथि पटक(पटक गलत आरोप लगाउने प्रयास भइरहेको उल्लेख छ।
उनले आफूमाथि आरोप लगाउने व्यक्ति दुई कार्यकाल नगर प्रमुख भइसकेका निवर्तमान नगर प्रमुखका सुपुत्र रहेको दाबी गर्दै आरोप लगाउनुअघि विगतको नेतृत्वकालमा भएका निर्णय र त्यसका परिणामतर्फ पनि ध्यान दिन आग्रह गरेका छन्।
फतुवा विजयपुर नगरपालिकामा देखिएका शिक्षा क्षेत्रका समस्या, नगर अस्पताल सञ्चालनमा देखिएको कठिनाइ तथा अन्य प्रशासनिक र विकास निर्माणका बेथितिमा आफ्नो कुनै भूमिका नरहेको यादवको भनाइ छ।
उनले कसैमाथि विनाआधार आरोप लगाउने पक्षमा आफू नरहेको भन्दै राजनीतिक बहस तथ्य र जिम्मेवारीका आधारमा हुनुपर्ने बताएका छन्।
यादवले आर्थिक वर्ष २०७७र०७८ मा ल्याइएको नीतिअनुसार २०७७ भदौ मसान्तसम्मको बक्यौता आफैँ चुक्ता गरेकाहरूको मात्र नगरपालिकाले विद्युत् महसुल तिर्ने व्यवस्था गरिएको उल्लेख गरेका छन्।
उक्त सूचना सर्वसाधारणसम्म प्रभावकारी रूपमा नपुग्दा नगरपालिकाका झन्डै ५० प्रतिशत नगरबासी अझै पनि विद्युत् महसुलसम्बन्धी समस्याबाट प्रभावित भएको उनको दाबी छ।
नगरबासीले भोग्दै आएको बाँकी विद्युत् महसुलको समस्या समाधानका लागि आफूले सम्बन्धित निकाय र विभिन्न ठाउँमा पुगेर पटक(पटक पहल गरेको यादवले बताएका छन्।
आफ्नै पहलका कारण कार्यपालिकाबाट निर्णय गराई आगामी नगर सभाबाट स्वीकृत हुने गरी आवश्यक बजेट विनियोजन भइसकेको दाबी गर्दै उनले यसलाई नगरबासीका लागि खुसीको खबर भएको बताएका छन्।
यादवले आफू बाहिर बसेर भाषण गर्ने वा सामाजिक सञ्जालमा मात्र कुरा गर्ने व्यक्ति नभएको उल्लेख गर्दै जनताका समस्याको परिणाममुखी समाधानका लागि निरन्तर काम गरिरहेको बताएका छन्।
आफ्नो कार्यकालमा भएका कमी(कमजोरी, अपारदर्शिता र असफलतालाई ढाकछोप गर्न अरूमाथि आरोप लगाउनु गैरजिम्मेवारपन भएको यादवको भनाइ छ।
उनले सस्तो लोकप्रियता र अनर्गल प्रचारले सत्यलाई लुकाउन नसक्ने भन्दै नगरबासीले भ्रम र वास्तविकताबीचको फरक बुझ्ने विश्वास व्यक्त गरेका छन्।
यादवले यस्ता आरोपबाट विचलित नभई फतुवा विजयपुरको विकास, सुशासन तथा नगरबासीको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






