जनमत पार्टीको दोस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा

आज मतदाता नामावली सार्वजनिक हुँदै


जनकपुरधाम, भदौ ३१ । जनमत पार्टीले आगामी असोज ९ र १० गते पर्साको वीरगञ्जमा आयोजना गर्न लागेको दोस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

महाधिवशेनका लागि विरगंज स्थित टाउन हल बुक गरिएको जनमत पार्टीका सचिव एवं मधेश प्रदेशका सांसद संजय यादवले जनाएका छन । उनका अनुसार महाधिवेशनको उद्घाटन देखी बन्द सत्र सम्मका सबै कार्यक्रम टाउन हलमै गरिने भएको छ ।

मुलुकको बाढीको महाविपद्बाट गुज्रि रहेको बेलामा महाधिवेशन तामझाम विना गर्न लागिएको सचिव यादवले बताए । उनले भने, मुलुकको बाढीको विपदबाट गुज्रीरहेको छ । हजारौ नागरिक अझै लापता छ । यस्तो अवस्थामा तामझाम विना महाधिवेशन सम्पन्न गर्छौ ।

महाधिवेशन तयारीको क्रममा आजै मध्यान्ह मतदाता नामावली सार्वजनिक हुन लागेको हो । मतदाता नामावली सार्वजनिक भएपछि महाधिवेशनको औपचारिक कार्यक्रम आजैबाट शुरु हुने सचिव यादवले बताए ।

पार्टीले महाधिवेशनको तयारीको क्रममा निर्वाचन निर्देशिका तथा अन्य आवश्यक दस्तावेजलाई अन्तिम रूप दिने काम भइरहेको जनाएको छ।
निर्वाचन निर्देशिकाअनुसार महाधिवेशनबाट केन्द्रीय कार्यकारिणी समितिका १०० जना पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् । बाँकी ५१ सदस्य भने समावेशी सिद्धान्तका आधारमा मनोनयन गरिने पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता एकतिहाइ पुर्याउने व्यवस्था गरिएको छ।

जनमत पार्टीका अनुसार महाधिवेशनबाट बढीमा १७ जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा एक अध्यक्ष, बढीमा सात उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र बढीमा सात सचिव रहनेछन्। कोषाध्यक्ष र प्रवक्तासहित निर्वाचित हुन नसकेका वा रिक्त पदमा अध्यक्षले मनोनयन गर्न सक्ने व्यवस्था निर्वाचन निर्देशिकामा गरिएको छ।

पार्टीले केन्द्रीय पदाधिकारीका लागि उम्मेदवारी शुल्क १५ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ५ हजार रुपैयाँ निर्धारण गरेको छ।
उम्मेदवारहरूले पार्टीको आधिकारिक खातामा शुल्क जम्मा गरी त्यसको रसिदसहित तोकिएको फाराम भरेर पार्टीको आधिकारिक इमेलमा उम्मेदवारी पत्र पठाउनुपर्नेछ। जम्मा गरिएको शुल्क कुनै पनि अवस्थामा फिर्ता नहुने जनमत पार्टीले स्पष्ट पारेको छ।

निर्देशिकाअनुसार केन्द्रीय कार्यकारिणी समितिको कुनै पनि पदमा निर्वाचित हुन उम्मेदवारले खसेको कुल मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्नेछ। खुलातर्फ एउटै जिल्लाबाट बढीमा पाँच जना सदस्य मात्र निर्वाचित हुन सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, मतपत्रमा तोकिएको पद संख्याभन्दा बढी उम्मेदवारलाई मत संकेत गरिएमा माथिबाट क्रमशः आवश्यक संख्यामा रहेका उम्मेदवारको मत मात्र मान्य हुने प्रावधान राखिएको छ।

 

प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ०८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको