जनकपुरधाम, असोज १ । आज असोज १ गते जनकपुरधाम सहित विश्वभरि वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाइँदैछ । कालीगढ, मजदुर, उद्योगी तथा विभिन्न प्राविधिक क्षेत्रमा आबद्ध व्यक्तिहरूले भगवान् विश्वकर्माको पूजा–आराधना गरी यो पर्व मनाउने परम्परा छ ।
विश्वकर्मा पूजाका अवसरमा विभिन्न कलकारखाना, वर्कसप तथा उद्योगहरू सजाएर विश्वकर्माको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा गरिन्छ । यस क्रममा कामदार तथा कर्मचारीलाई सहभागी गराई औजार, मेसिनरी, उपकरण र सवारीसाधनको समेत पूजा गर्ने चलन छ ।
धार्मिक विश्वासअनुसार विश्वकर्मालाई वास्तुकला र निर्माण विद्याका विशिष्ट ज्ञाता मानिन्छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसबाट जोगाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको धार्मिक मान्यता छ । एकै रातमा उक्त संरचना निर्माण गरेको विश्वासका आधारमा विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा पूजा गर्ने परम्परा सुरु भएको धर्मशास्त्रविद्हरू बताउँछन् ।
विश्वकर्माले वास्तुशास्त्रसम्बन्धी ‘विश्वकर्मा प्रकाश’ नामक ग्रन्थ रचना गरेको विश्वाससमेत पाइन्छ । यही धार्मिक तथा सांस्कृतिक मान्यताका आधारमा नेपालका कालीगढहरूले प्रत्येक वर्ष विश्वकर्मा पूजालाई विशेष रूपमा मनाउँदै आएका छन् ।
विश्वकर्मा पूजाका दिन औजार तथा मेसिनरीको पूजा गरेमा ती सामग्री लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र काममा सफलता प्राप्त हुने धार्मिक विश्वास छ । त्यसैले उद्योग, कारखाना, वर्कसपदेखि यातायात क्षेत्रमा प्रयोग हुने इन्जिन तथा सवारीसाधनमा समेत पूजा गर्ने गरिन्छ ।
पूजाका लागि बनाइएका बालुवा वा अन्य सामग्रीका विश्वकर्माका मूर्ति पूजा सम्पन्न भएपछि नदी तथा अन्य शुद्धस्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ ।
यसै दिन वास्तुशास्त्रका अध्येता तथा वास्तुविद्हरूले वास्तु दिवससमेत मनाउने गर्छन् । नेपालमा पछिल्लो समय वास्तुविद्याप्रति चासो बढ्दै गएको छ । स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माणप्रति आकर्षण बढेसँगै वास्तुविद्याको महत्वसमेत बढ्दै गएको अध्येताहरूको भनाइ छ ।






