हुलाकी सडकको अतिक्रमण हटाउन ३५ दिनको अल्टिमेटम



जनकपुरधाम, असोज १ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले हुलाकी सडकको क्षेत्राधिकारभित्र रहेका स्थायी तथा अस्थायी संरचना हटाउन सम्बन्धित व्यक्ति तथा सरोकारवालालाई ३५ दिनको समय दिएको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सडक सीमाभित्र रहेका घर, टहरा तथा सडकको आवागमन, संरक्षण र निर्माण कार्यमा अवरोध पुग्ने गरी राखिएका मालवस्तु तथा निर्माण सामग्री हटाउन आग्रह गरेको हो ।

कार्यालयका अनुसार सिरहाको बलान–कमला सडक, धनुषाको जनकपुर–यदुकुहा, जनकपुर–कदमचोक–कप्तौल–तीनकौरिया–कमला सडक तथा धनुषा–महोत्तरीको जनकपुर–बसबिट्टी–भ्रमरपुरा–बलवा–सरपल्लो–भोल्ही–पोखरभिण्डा सडकमा रहेका संरचना हटाउन भनिएको छ ।

त्यसैगरी सर्लाहीको शीतलपुर–मलङ्गवा–खरैयाटोल र बाँकेको संग्रामपुर सडकको सीमा क्षेत्रमा रहेका संरचना तथा सामग्रीसमेत हटाउन कार्यालयले आग्रह गरेको छ ।

हुलाकी सडक निर्माणको काम अन्तिम चरणमा पुगेकाले पहिलोपटक सडक सीमा खाली गराउन सार्वजनिक सूचना जारी गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायले बताउनुभयो ।

उहाँका अनुसार सडक सीमाभित्र रहेका घर, टहरा, मालवस्तु तथा निर्माण सामग्रीका कारण सडक निर्माण र संरक्षण कार्यमा अवरोध पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सडक सीमा खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई आग्रह गरिएको छ । कार्यालयले सम्बन्धित स्थानीय तहलाई समेत सूचना सार्वजनिक गर्न पत्राचार गरेको जनाएको छ ।

तोकिएको अवधिभित्र सडक सीमा खाली नगरेमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कानुनी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ । आवश्यक परे बल प्रयोग गरेर भए पनि सडक सीमा खाली गराउने चेतावनी कार्यालयले दिएको छ ।

हुलाकी सडकको आवागमन सहज बनाउन तथा निर्माण र संरक्षण कार्यलाई प्रभावकारी बनाउन सडक क्षेत्रको अतिक्रमण हटाउन लागिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार १४:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको