रुपन्देही, असोज ३ । बुद्धजन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रको संरक्षण, विकास तथा दिगो पर्यटन प्रवर्द्धनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु भएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा सुरु भएको सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष खड्गराज पौडेल ‘गणेश’ले उद्घाटन गरे। सम्मेलनमा सरकारी अधिकारी, बौद्ध धर्मगुरु, सम्पदाविद्, पर्यटन विज्ञ, विकास साझेदार तथा स्थानीय प्रतिनिधिसहित १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व सहभागी छन्।
उद्घाटन समारोहमा मन्त्री पौडेलले लुम्बिनी कुनै एउटा देशको सीमाभित्र मात्र सीमित नभएको उल्लेख गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले लुम्बिनीको सम्पदा संरक्षण र विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सहकार्य आवश्यक रहेको बताए।
मन्त्री पौडेलका अनुसार विश्व बैंकको साझेदारीमा ‘ग्लाण्ड’ परियोजनामार्फत लुम्बिनीको संरक्षण, विकास तथा विश्वव्यापी प्रवर्द्धनका लागि काम अघि बढाइएको छ। उनले लुम्बिनीलाई केवल भ्रमण गर्ने गन्तव्यका रूपमा नभई बुद्धका शिक्षा, शान्ति, करुणा, ध्यान तथा आध्यात्मिक चेतनाको अनुभव गर्ने स्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
सम्मेलनले लुम्बिनी विकास कोष, युनेस्को, इकोमोस, विश्व बैंक, बौद्ध समुदाय, स्थानीय समुदाय, विज्ञ तथा विकास साझेदारबीच साझा समझदारी निर्माण गर्न सहयोग पुग्ने विश्वास मन्त्री पौडेलले व्यक्त गरे।
बृहत्तर लुम्बिनी क्षेत्रमा लुम्बिनी, प्राचीन तिलौराकोट दरबार, बुद्धको अस्तुधातु रहेको रामग्राम, मायादेवीको माइतीघर देवदह तथा पण्डितपुरलगायत महत्वपूर्ण पुरातात्त्विक र धार्मिक स्थल समेटिएका छन्।
विश्व बैंकको सहयोगमा अघि बढाइएको ‘ग्लाण्ड’ परियोजनाअन्तर्गत आयोजना गरिएको सम्मेलन असोज ४ गते साझा घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ। लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो।






