जनकपुरधाम, असोज ३ । आज देशभर संविधान दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
संविधान दिवसको अवसरमा काठमाडौंमा विशेष समारोह आयोजना गरिँदैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
यता, संविधान दिवस मनाइरहँदा मधेशमा भने मधेश केन्द्रित दलहरूले यस दिनलाई विरोध दिवसका रूपमा मनाउने भएका छन् । मधेश विद्रोहमा सहभागी राजनीतिक दलहरूले मधेशको भावना र मागलाई सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै असोज ३ लाई विरोध दिवसका रूपमा मनाउँदै आएका छन् ।
संविधान जारी भएको दिनको विरोधमा वीरगञ्जसहित मधेशका विभिन्न स्थानमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मधेशी नागरिकको मृत्यु भएको घटनालाई स्मरण गर्दै मधेश केन्द्रित दलहरूले संविधानदिवसप्रति असहमति जनाउँदै आएका छन् ।
जनता समाजवादी पार्टी नेपालले आफ्ना जिल्ला समितिहरूलाई सर्कुलर जारी गर्दै असोज ३ लाई विरोध दिवसका रूपमा मनाउन निर्देशन दिएको छ । पार्टीका अनुसार विरोध दिवसको अवसरमा विभिन्न जिल्लामा ‘संविधान संशोधनको अपरिहार्यता’ विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिनेछ ।
मधेश केन्द्रित दलहरूले संविधान संशोधनमार्फत संघीयता, समानुपातिक समावेशिता, प्रतिनिधित्वलगायतका विषयलाई थप प्रभावकारी बनाउनुपर्ने माग गर्दै आएका छन् । संविधान दिवस र विरोध दिवसका कार्यक्रमसँगै मधेशमा संविधान कार्यान्वयन, संशोधन तथा अधिकारका विषयमा राजनीतिक बहससमेत हुने भएको छ ।






