काठमाडौं, असोज ३ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा गर्दै राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने बताएका छन् ।
संविधान दिवस २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै अध्यक्ष ओलीले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका हुन् ।
लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा शहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ओलीले संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्तो कठिन परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि प्रेरित गरेको स्मरण गरेका छन् ।
संविधान निर्माणका क्रममा देखिएका चुनौती सामना गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण तथा संरचनागत विकासमार्फत संविधान कार्यान्वयनको चरण अघि बढाएको दाबी पनि ओलीले गरेका छन् ।
उनले संविधानको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय एकता सुदृढ गर्न संविधानका पक्षधर शक्तिहरूबीच सहकार्य र एकता आवश्यक रहेको उल्लेख गरेका छन् । संविधान दिवसका अवसरमा ओलीले संविधान निर्माणमा योगदान पुर्याउने तथा लोकतान्त्रिक परिवर्तनका क्रममा जीवन बलिदान गर्नेहरूप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।






