सप्तरी, असोज ४ । सप्तरी प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। डाक्नेश्वरी नगरपालिका–६ फतेपुरबाट करिब २१ क्विन्टल गाँजासहित स्थानीय दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–६ फतेपुरका भोला सदा र मंगल मुखिया रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गोप्य सूचनाका आधारमा आइतबार राति करिब १ बजे प्रहरी निरीक्षक प्रमोदकुमार साहको नेतृत्वमा खटिएको टोलीले दुवै जनाको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा सदा र मुखियाको घरमा भण्डारण गरी राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजा बरामद गरिएको हो।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार बरामद गाँजाको तौल करिब २ हजार १ सय किलोग्राम अर्थात् २१ क्विन्टल रहेको छ।
बरामद गाँजासहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। घटनामा उनीहरूको संलग्नता, गाँजाको स्रोत तथा भण्डारणको उद्देश्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।






