एमाले केन्द्रीय कमिटीको बैठक आज पनि , माइन्युट लेखनको र बहस नोटको जिम्मेवारी बाँडफाँड



काठमाडौं, असोज ६ । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहने छ । हिजो देखी भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने छन् । केन्द्रीय सदस्यलाई तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन, जनतासँग सम्बन्ध र समसामयिक विषयमा धारणा राख्ने गरी समय व्यवस्थापन गरिएको छ ।

बैठकका लागि माइन्युट लेखन तथा बहस नोट तयार गर्ने जिम्मेवारी छुट्टाछुट्टै कमिटीलाई दिइएको छ ।

एमाले नेता सूर्य थापाले सामाजिक सञ्जालमार्फत केन्द्रीय कमिटी बैठकका लागि गठन गरिएका दुवै कमिटीका सदस्यहरूको नाम सार्वजनिक गरेका हुन् ।

बैठकको माइन्युट लेखन कमिटीको संयोजन उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्नेछन् । उक्त कमिटीमा उपाध्यक्ष गोकर्ण विष्ट र महासचिव शंकर पोखरेल सदस्य रहेका छन् ।

त्यस्तै, बैठकमा उठ्ने विषय तथा छलफलका आधारमा बहस नोट तयार गर्ने जिम्मेवारी उपमहासचिव योगेश भट्टराईसहित पाँच सदस्यीय टोलीलाई दिइएको छ ।

बहस नोट कमिटीमा उपमहासचिव भट्टराईसँगै सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य सूर्य थापा, निरज आचार्य र खिमलाल भट्टराई रहेका छन् ।

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक विषय तथा आगामी कार्यदिशालगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न विषयमा धारणा राख्ने र त्यसलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न माइन्युट तथा बहस नोट कमिटी गठन गरिएको हो ।

नेता थापाका अनुसार बैठकमा हुने छलफललाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्न माइन्युट लेखन तथा बहस नोट तयार गर्ने जिम्मेवारी तोकिएको हो । बैठकमा प्रस्तुत हुने विषय र छलफलको निष्कर्षका आधारमा तयार हुने दस्तावेजले पार्टीको आगामी निर्णय प्रक्रियामा समेत भूमिका खेल्नेछ।

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार ०७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको