काठमाडौं, असोज ६। मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार असोज ८ गते बेलुकादेखि नै वर्षाको गतिविधि बढ्न सक्नेछ। विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
मधेशसहित कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने देशका अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली हुँदै ‘डीप डिप्रेसन’मा परिणत भएर पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ। यसको प्रभावले बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको छ।
सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्ने महाशाखाले जनाएको छ। तराई तथा शहरी क्षेत्रमा डुबानको जोखिम रहनुका साथै नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा थप सावधानी अपनाउन आग्रह गरिएको छ।
भारी वर्षाले कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने जनाइएको छ। नदी तथा खोला आसपास भइरहेका निर्माण कार्यमा जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले सुन्तला रङले देखाइएका क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा पहेँलो रङका क्षेत्रमा मौसम तथा बाढीसम्बन्धी नयाँ सूचना नियमित रूपमा हेर्न आग्रह गरेको छ।







