जनकपुरधाम, असोज ६। डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगबाट ठूलो परिमाणमा काठ बरामद गरेको छ।
वन कार्यालयले सोमबार साँझ विश्वकर्मा चोक नजिक रहेको कमला भेनियर उद्योगमा छापा मारेर ६७५ क्युफिट सिमल जातको काठ नियन्त्रणमा लिएको हो।
डिभिजन वन कार्यालय धनुषाका डिभिजनल वन अधिकृत विनोद सिंहका अनुसार उद्योग परिसरबाट ७८ थान सिमलको काठ बरामद भएको छ। काठको स्रोत तथा आयातसम्बन्धी आवश्यक कागजात उद्योग सञ्चालकले तत्काल प्रस्तुत गर्न नसकेपछि काठ नियन्त्रणमा लिइएको उनले बताए।
विशेष सूचनाका आधारमा सब–डिभिजन वन कार्यालय पुष्पवलपुर र डिभिजन वन कार्यालय धनुषाबाट खटिएको संयुक्त वन कर्मचारीको टोलीले उद्योगमा छापा मारेको थियो। छानबिनका क्रममा उद्योग परिसरमा ठूलो परिमाणमा सिमलको काठ भण्डारण गरी राखिएको अवस्थामा फेला परेको वन कार्यालयले जनाएको छ।
बरामद काठको वैध स्रोत खुल्ने कागजात तथा आवश्यक अनुमति भए–नभएको विषयमा वन कार्यालयले थप अनुसन्धान गरिरहेको छ। काठ कहाँबाट ल्याइएको हो, कसले आपूर्ति गरेको हो र उद्योगमा भण्डारण गर्दा आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो वा थिएन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको डिभिजनल वन अधिकृत सिंहले जानकारी दिए।
बरामद ६७५ क्युफिट काठ हाल डिभिजन वन कार्यालय धनुषाको नियन्त्रणमा राखिएको छ। अनुसन्धानबाट काठको स्रोत तथा कानुनी अवस्थाबारे थप तथ्य खुल्ने वन कार्यालयले जनाएको छ।






