जनकपुरधाम, असोज ७ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। स्थानीय तहमा पार्टीको नयाँ सांगठनिक नेतृत्व चयन गर्ने क्रममा कांग्रेसले पालिका अधिवेशन गर्न लागेको हो। कांग्रेसको आधिकारिक वेबसाइटले पनि असोज ७ गते पालिका अधिवेशनको कार्यक्रम राखेको छ।
असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनपछि कांग्रेसको महाधिवेशन प्रक्रिया अब पालिका तहमा प्रवेश गरेको हो। केही छिटपुट स्थानबाहेक अधिकांश वडामा नेतृत्व चयन सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ। प्राकृतिक विपत्ति तथा विशेष परिस्थितिका कारण केही स्थानमा भने अधिवेशनको मिति हेरफेर गरिएको छ।
नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान छ।
पालिका कार्यसमितिका सदस्यतर्फ प्रत्येक वडाबाट एक महिला र एक खुला सदस्य तथा युवा क्लस्टरबाट एक महिलासहित तीन जना निर्वाचित हुने व्यवस्था छ। दलित समुदायबाट पनि एक महिला र एक खुला सदस्य चयन हुनेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमितिमा क्रमशः ७, ९, ११ र १३ जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था गरिएको छ।
यसैबीच धनुषामा पालिका अधिवेशनको मिति परिवर्तन गरिएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालय, धनुषाले जारी गरेको सूचनाअनुसार विशेष कारणले पालिका अधिवेशन २०८३ असोज १० गते गर्ने निर्णय भएको छ। त्यस्तै प्रदेश सभारप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि असोज १३ गते गर्ने गरी मिति परिवर्तन गरिएको सूचनामा उल्लेख छ।
यसरी वडा तहबाट सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया पालिका हुँदै क्षेत्रीय, जिल्ला र प्रदेश तह पार गरेर केन्द्रीय महाधिवेशनतर्फ अघि बढ्नेछ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।







