पोखरा, असोज ७ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ। विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहोरा प्रयोग गरी स्वागत गर्ने तयारी गरिएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गो, सुरक्षा तथा अन्य सेवा सञ्चालनको तयारी पूरा भएको विमानस्थलले जनाएको छ।
विमानस्थल सञ्चालनमा आएको करिब चार वर्षको अवधिमा केही वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि ती उडानले निरन्तरता पाउन सकेका थिएनन्। फ्लाई दुबईको नियमित उडान सुरु भएपछि पोखराबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ।
पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले यात्रुको जाँचपास, राजस्व संकलन, वैध व्यापार सहजीकरण तथा निकासी–पैठारीका लागि आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिए।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई नियमित उडानले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। फ्लाई दुबईको सञ्जालमार्फत पोखरालाई विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्न सकिने उनको भनाइ छ।
दुबईमा रोजगारी तथा अध्ययनका लागि जाने नेपाली यात्रुका लागि पनि पोखराबाटै नियमित उडान सञ्चालन हुँदा सहज हुने पर्यटन व्यवसायीको अपेक्षा छ।
यसैबीच, अन्तर्राष्ट्रिय उडानलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले विमानस्थलको सुरक्षा अवस्थाको निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिएका छन्। यात्रु तथा पर्यटकको स्वागत तथा बिदाइका लागि पोखराका पर्यटन व्यवसायीले समेत विशेष तयारी गरेका छन्।






