काठमाडौं , असोज ७। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि अत्यावश्यकबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै बिहीबारदेखि असोज १२ गतेसम्म यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्य तथा व्यवसायीलाई आग्रह गरेको हो।
महासंघले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई समेत अनुरोध गरेको छ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित विपद्का जोखिमलाई ध्यान दिँदै सम्बन्धित निकाय र सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिसकेको थियो।
यस साता लगातार वर्षा हुने पूर्वानुमानसँगै विभिन्न स्थानका सडकमा बाढी, पहिरो तथा सडक अवरुद्ध हुने जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन महासंघले आग्रह गरेको छ।
महासंघले मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न र जोखिम देखिएमा यात्रा स्थगित गर्न पनि अनुरोध गरेको छ।






