मौसम प्रतिकूल भएपछि जनमत पार्टीको महाधिवेशन असोज १७ गते



जनकपुरधाम, असोज ८ । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको मिति परिवर्तन गरेको छ । प्रतिकूल मौसमका कारण यसअघि असोज ९ र १० गते गर्ने तय भएको महाधिवेशन अब असोज १७ गते शनिबार वीरगन्जमा हुने भएको छ ।

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । पार्टीका सचिवालय प्रमुख राजेश कुमार मण्डलले जारी गरेको सूचनामा मौसम प्रतिकूल बनेपछि महाधिवेशनको मिति परिवर्तन गरिएको उल्लेख छ ।

पार्टीले यसअघि असोज ९ र १० गते दोस्रो महाधिवेशन गर्ने निर्णय गर्दै आवश्यक तयारीसमेत अन्तिम चरणमा पुर्‍याएको थियो । तर ‘अर्नब’ चक्रवातका कारण असोज ८ देखि भारी वर्षासँगै बाढी, पहिरो, डुबान, नदी कटान, हिमपात तथा सडक अवरोधको जोखिम रहेको भन्दै सम्बन्धित निकायबाट सूचना जारी भएको जनमत पार्टीले जनाएको छ ।

त्यसैगरी विद्युत् तथा सञ्चार सेवा प्रभावित हुनसक्ने र लामो यात्रा नगर्न सुझाव दिइएको अवस्थालाई समेत ध्यानमा राखेर महाधिवेशन स्थगित गरी नयाँ मिति तोकिएको पार्टीको सूचनामा उल्लेख छ ।

यिनै परिस्थितिलाई मध्यनजर गर्दै केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले दोस्रो महाधिवेशन असोज १७ गते शनिबार वीरगन्जमा गर्ने निर्णय गरेको हो ।

पार्टीले महाधिवेशनको मिति परिवर्तन भए पनि यसअघि पूरा भएका अन्य सबै प्रक्रिया यथावत् रहने जनाएको छ । जनमत पार्टीको दोस्रो महाधिवेशनमा नेतृत्व चयनसहित विभिन्न सांगठनिक विषयमा निर्णय हुने अपेक्षा गरिएको छ । पार्टीले महाधिवेशनका लागि यसअघि नै आवश्यक तयारी र निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाइसकेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ८, बिहीबार १४:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको