नारायणगढ-मुग्लिन सडकमा तत्काल सवारी नचल्ने



चितवन, असोज ९ । लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बन्द रहेको नारायणगढ-मुग्लिन सडकखण्डमा तत्काल सवारी आवागमन सञ्चालन नगरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय, चितवनले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।

असोज ८ गतेदेखि चितवन र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणगढ–मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसिरहेको प्रशासनले जनाएको छ। सडकमा खसेको पहिरो हटाउने काम भइरहेको भए पनि थप पहिरो खस्ने जोखिम कायमै रहेकाले यातायात सञ्चालन नगर्ने निर्णय गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै यात्रा नगर्न सर्वसाधारण तथा सवारी चालकलाई आग्रह गरेका छन्।

प्रशासनले वर्षाका कारण सडकमा जोखिम बढेकाले यात्राका क्रममा सावधानी अपनाउन र सम्बन्धित निकायबाट सडक खुलेको आधिकारिक सूचना प्राप्त भएपछि मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ९, शुक्रबार ०८:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको