मेसीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास , अन्तिम खेलमा एक गोल



एजेन्सी, असोज २१ । अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक विदाइ गरिएको छ ।

८५ हजारभन्दा बढी दर्शक उपस्थित खेलमा मेस्सीको बिदाइ विशेष बनाइएको थियो। खेलअघि उनी आफ्ना छोराहरू थियागो, माटेओ र सिरोसँग मैदान प्रवेश गरेका थिए। राष्ट्रिय गानका क्रममा मेस्सी भावुक देखिएका थिए।

खेलको १०औँ मिनेटमा मेस्सीलाई सम्मान गर्न खेल केही समय रोकिएको थियो। त्यसक्रममा स्टेडियममा उपस्थित दर्शकहरूले उभिएर ताली बजाउँदै उनलाई सम्मान गरे।

खेलमा मेस्सीले निकोलस ओटामेन्डीलाई गोलका लागि पास मिलाउँदै अर्जेन्टिनालाई अग्रता दिलाउन सहयोग गरे। त्यसपछि निको पाजले अर्जेन्टिनाका लागि दोस्रो गोल गरे।

७१औँ मिनेटमा प्राप्त पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गरेपछि अर्जेन्टिनाले ३–० को अग्रता लियो। यो राष्ट्रिय टोलीका लागि मेस्सीको १२६औँ गोल हो।

खेल सकिएपछि ड्रोनमार्फत आकाशमा मेस्सीको तस्बिरसँगै ‘ग्रासियास’ लेखिएको सन्देश प्रदर्शन गरिएको थियो। अर्जेन्टिनाका खेलाडीहरूले उनलाई अँगालो हाल्दै बिदाइ गरे।

२१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा मेस्सीले अर्जेन्टिनाका लागि २०८ खेल खेल्दै १२६ गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनको नेतृत्वमा अर्जेन्टिनाले २०२२ को विश्वकप, दुई कोपा अमेरिका र फाइनलिसिमा उपाधि जितेको छ।

मेस्सीले अगस्टमा २०२६ विश्वकपको फाइनलमा स्पेनसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए। राष्ट्रिय टोलीबाट उनको बिदाइसँगै अर्जेन्टिनाको फुटबलमा उनको लामो अन्तर्राष्ट्रिय यात्राको अन्त्य भएको छ।

मेस्सी हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। क्लब फुटबलबाट समेत भविष्यमा सन्यास लिन सक्ने संकेत उनले दिएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार ०८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको