रौतहटमा फैसला कार्यान्वयन अभियान तीव्र, ३७ जना फरार पक्राउ 



ओम प्रकाश यादव
रौतहट, असोज २१ । जिल्ला प्रहरी कार्यालय रौतहटले फैसला कार्यान्वयनतर्फ फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने विशेष अभियानअन्तर्गत ३७ जना फरार व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका व्यक्तिहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका सबै ३७ जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरू विभिन्न आपराधिक तथा अन्य मुद्दामा अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका व्यक्ति हुन्।

उनीहरूविरुद्ध जालसाजी, कुटपिट तथा अंगभंग, विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूर, नागरिकता किर्ते, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, लेनदेन बिगो, सवारी ज्यान, बाल शोषण आरोप, जबरजस्ती करणी उद्योग, चेक अनादरलगायतका मुद्दा रहेका छन्।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही व्यक्तिलाई अदालतले कैद सजाय तोकेको छ भने केहीलाई जरिवाना तथा कैद र जरिवाना दुवैको फैसला भएको छ।

फैसला कार्यान्वयनअन्तर्गत पक्राउ परेकामध्ये केहीलाई १ महिना १५ दिन, ४ महिना ६ दिन, ९ महिना ४ दिन तथा २ वर्ष ११ महिना ९ दिनसम्मको कैद सजाय तोकिएको विवरणमा उल्लेख छ। त्यस्तै, एक व्यक्तिलाई ३ वर्ष कैद सजाय तोकिएको देखिन्छ।

यसैगरी विभिन्न मुद्दामा अदालतबाट ५०० रुपैयाँदेखि ७७ हजार रुपैयाँसम्म जरिवाना तोकिएका व्यक्तिहरू समेत पक्राउ परेका छन्।

विवरणमा जालसाजी मुद्दामा ३ हजार रुपैयाँ, कुटपिट तथा अंगभंग मुद्दामा ७७ हजार रुपैयाँ, विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा २ हजार ५०० रुपैयाँ, नागरिकता किर्तेमा २२ हजार ८०० रुपैयाँ, ज्यान मार्ने उद्योगमा ६ हजार ५०० रुपैयाँ र अभद्र व्यवहारमा ३ हजार रुपैयाँ जरिवाना तोकिएका व्यक्तिहरू समेत रहेको उल्लेख छ।

त्यस्तै, लेनदेन बिगो, सवारी ज्यान, बाल शोषण आरोप, कुटपिट, जबरजस्ती करणी उद्योग, चेक अनादरलगायतका मुद्दामा फैसला भएर फरार रहेका व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले फैसला कार्यान्वयनतर्फ फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइएको जानकारी दिएका छन्।

प्रहरीले अदालतबाट फैसला भइसकेका तर फरार रहेका व्यक्तिहरूको खोजी तथा पक्राउ कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूबाट विशेष रूपमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले २०८३ साल असोज २० गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त अभियानअन्तर्गत ३७ जना फरार व्यक्ति पक्राउ गरी जिल्ला अदालत गौरमा बुझाइएको हो।

प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार ०९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको