जनकपुरधाम । मधेश प्रदेश सरकारले सोमवार पूर्णता पाएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले छैटौं पटक मन्त्रिपरिषद् पुनर्गठनगरि सरकारलाई पूर्णता दिएका छन् ।
मन्त्रिपरिषद पुनर्गठनमा कांग्रेसबाट मोहम्मद समिम गृह, सञ्चार तथा कानुन मन्त्री बनेका छन् ।उनी सप्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट निर्वाचित भएका हुन् ।सभासद समिम पहिलो पटक सरकारमा गएका छन् ।
कांग्रेस मधेश प्रदेशका सभापति समेत रहेका संसदीय दलका नेता कृष्णा यादवका अत्यन्त सहयोगी मानिने मो.समिमलाई सरकारमा पठाउने तयारी पहिले नै भएपनि केन्द्रिय सभापतिको ‘ ग्रीन सिग्नल’ नहुँदा रोकिएको थियो ।गत हप्ता सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा जनकपुरधाम आउँदा मो.समिम सरकारमा जाने वातावरण बनेको थियो ।
यसैगरि जनमत पार्टीबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री बनेका छन् ।उनी महोत्तरी जिल्लाबाट समानुपाति कोटामा सभासद भएका हुन् ।सिंह प्रदेश सभामा जनमत पार्टीका प्रमुख सचेतक थिए ।

यस अघि जनमत पार्टीबाट बिनाबिभागिय मन्त्री रहेका वसन्त कुशावाहाले राजिनामा दिएका थिए ।कुशवाहा दुई महिना भन्दा बढी समयदेखि नै बिना बिभागिय मन्त्री थिए ।भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री रहेका बेला उनले मन्त्रीको आचरण प्रतिकुल कार्य गरेको आरोप लागेको थियो ।
मन्त्रालय खोसेर बिना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले आजै पार्टीको निर्देशनमा राजीनामा दिएका थिए।
सिंहलाई पनि बिना बिभागिय मन्त्रीको सपथ गराउने तयारी थियो ।तर जनमत पार्टी संसदीय दलका नेता समेत रहेका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवले बिभाग नदिए आफूपनि सरकारबाट अलग्गिने धम्की दिएपछि मुख्यमन्त्री यादवले सिंहलाई मन्त्रालय दिएको बताइएको छ ।स्रोतहरुका अनुसार मुख्यमन्त्री यादव सिंहप्रति सकारात्मक रहेका छन् ।नेपाल सदभावना पार्टीको राजनीतिमा दुबै जना सँगै काम गरेका थिए ।
जनमत पार्टीबाट राज्यमन्त्री रहेका सञ्जय कुमार यादवलेपनि राजिनामा दिएका छन् ।उनको व्यवस्थापन शिक्षा मन्त्रालयमा गर्ने भनिएपनि सिंहका लागि मन्त्रालयको जनमतले अडान नछाडेपछि राज्यमन्त्री छाड्नु परेको स्रोतले जनाए ।
जनता समाजवादी पार्टी(जसपा)नेपालको तर्फबाट मन्त्री बनेकी सुरिता साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राखिएको छ ।
मन्त्री साहले शिलान्यास, उद्घाटन गर्ने, ज्ञापन बुझ्ने लगायतका काम गर्ने छिन् ।तर उनलाई चाँडै नै मन्त्रालयको जिम्मेवारी दिने तयारी सरकारले गरेको बताइएको छ ।
मन्त्री साहसँगै बिनाबिभागिय रहेका राज्यमन्त्री शेष अबुल कलाम आजाद(फूलबाबु)लाई उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयमा राज्यमन्त्री बनाइएको छ ।
नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सोमवार साँझ नै पद तथा गोपनीयताको शपथ गराएका छन् । कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए ।
मधेश प्रदेशमा एमाले बाहेक सबै दल अब सरकारमा छन् ।सरकार गठनको बखत एमाले भने सरकारमा थिए ।सरकार गठनकाल देखि नै जनमत सरकारमा सहभागि छ । कांग्रेसले एमालेबाट चुनिएका सभामुख रामचन्द्र मण्डललाई हटाउन दुई तिहाई बहुमत पु¥याएको छ ।तर सत्ता गठबन्धकै केहि दलले सभामुख हटाउन कांग्रेसलाई सघाउने सकारात्मक प्रतिकृया दिइसकेका छैनन् ।
सभामुख फेर्न प्रदेश सभामा चाहिने २ तिहाई बहुमत सरकारसित छ ।जनमत र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले कांग्रेसलाई सघाउन तयार छ ।जसपा, नेकपा एस र माओवादी केन्द्र हच्किन सक्ने संभावना छ । सरकारलाई पूर्णता दिएपछि मुख्यमन्त्री यादवले भने, सरकारले अब द्रुतगतिमा काम अगाडी बढाउने छ ।सुख्खाको समस्याबाट पीडित प्रदेशवासी र किसानलाई राहत दिन बिभिन्न पहलहरु भइरहेको उनले बताए ।







