पाठेघर क्यान्सर बिरुद्धको खोप अभियान दूई चरणमा



सप्तरी,माघ १८ । नेपालमा प्रत्येक दिन पाठेघर मुखको क्यान्सरबाट ४ जना महिलाको मृत्यु हुने गरेको तथ्याँक सार्वजनिक गरिएको छ ।
जिल्ला खोप समन्वय समिती सप्तरीले शुक्रवार जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लामा २३ माघ देखी संचालन हुने एचपीभी खोप अभियानबारे जानकारी दिने उदेश्यले आयोजित संचार क्षेत्रसंगको अभिमुखीकरण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका प्रतिनीधी एवं खोप अधिकृत सरला न्यौपानेले यस्तो तथ्याङ्क प्रस्तुत गरेकी हुन । उनले पाठेघरको मुख क्यान्सरबाट नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुने गरेको भन्दै मृत्युदर घटाउन र महिलालाई पाठेघरको मुखको क्यान्सर रोगबाट जोगाउन अहिले नेपालमा एचपीभी खोप अभियान चलाइएको जानकारी समेत दिइन् ।

उनले नेपालमा क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनुमा पाठेघरको मुखको क्यान्सर नै पहिलो कारण देखिएको भन्दै अभियान सफल बनाउन सञ्चारकर्मीहरु समेतलाई सहयोग गर्न आग्रह गरिन ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले एचपीभी खोप अभियान २३ माघ देखी जिल्लामा २ चरणमा संचालन हुने जानकारी दिए ।



पहिलो चरण माघ २३ देखी ३० सम्म जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, सुरुंङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका तथा रुपनी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका र बलान विहुल गाउँपालिका संचालन हुने छ ।

दोश्रो चरण फागुन १ गतेबाट राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका र विष्णुपुृर गाउँपालिकामा संचालन हुने सो अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख झाले जानकारी दिए ।

उनले उक्त अभियान मुलुकभर एकै दिन २२ माघ देखी संचालन हुने तय रहेपनि सप्तरीमा सरस्वती पुजा र त्यसको भोली पल्ट मुर्तीे सेलाउन दिनमा विद्यालयहरु बन्द रहने भएका कारण यहाँ २३ माघदेखी अभियान थालिने निर्णय गरिएको बताए ।

जनस्वास्थ्य अधिकृत जागेश्वर खडकाले जिल्लामा एचपीभी खोप अभियान संचालनका लागी ४ सय ५० खोप केन्द्र कायम गरिएको र यसमा १ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुने जानकरी दिए ।
अर्का जनस्वास्थ्य अधिकृत हिरेन्द्र प्रसाद साहले जिल्लामा १० देखि १४ वर्ष उमेर समुहका ३६ हजार ७ सय १ जना बालिकालाई लक्षित गरी अभियान चलाउन लागिएको बताए ।

कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले पनि बोल्दै खोप अभियान सफल बनाउन सबैले सहयोग गर्नू पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: २०८१ माघ १८, शुक्रबार १८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको