जनकपुरधाम, माघ २१ । आज वसन्त पंचमी अर्थात विद्याकी देवी माता सरस्वतिको पूजा अर्चना गरि देश भरि मनाइदै छ । विद्यार्थी वर्गले विशेष उत्साहका साथ मनाउने यस पर्वका अवसरमा शिक्षालयहरुमा विहानै देखि विद्यार्थीहरु पूजाको तैयारीमा व्यस्त देखिएका छन ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाउने गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
यसैगरि मधेशको प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमी पनि भनिने यस पर्वमा कैयौं परम्परा जोडिने हुँदा यो यहाँ बहुआयामिक महत्वको रुपमा रहँदै आएको छ ।
मिथिलामा मुख्यतः विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजन परम्परासँग जोडिएको यो पर्वमा ससाना नानीहरुलाई अक्षरारम्भ गराइने मैथिल परम्परा छ । “यो सरस्वती पूजनोत्सव र विद्यारम्भसँग सम्बद्ध पर्व हो”, मैथिल लोकपरम्पराका ज्ञाता जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८७ वर्षीय कृष्णचन्द्र झा भन्नुहुन्छ, “यसै परम्पराअनुसार यो पर्वका दिन ससाना नानीलाई खरीपाटी समाउन लगाउने चलन छ ।” पहिलेको खरीपाटीको ठाउँ भने अब कापी, कलम र पेन्सिलले लिएको उहाँले स्पष्ट पार्नुभयो ।
माघ शुक्लपञ्चमीका दिन अक्षरारम्भ गराइएका बालबालिकाले पढे लेखेको कुरा सहजै टिप्छन् भन्ने मान्यताले वसन्तपञ्चमी पर्व लेखपढको राम्रो मुहूर्त मानिँदै आइएको हो । अक्षराम्भ गराइने बालबालिकालाई व्यञ्जन वर्णमालाको पहिलो अक्षर ‘क’ लेख्न सिकाइन्छ । ‘क’ पूर्वीय दर्शन परम्परामा व्यञ्जन वर्णमालाको पहिलो अक्षरमात्र नभई ब्रह्मस्वरुप भएको हुँदा यसको लेखन र वाचन अभ्यासले परंब्रह्मको आराधना पनि हुने पूर्वीय दर्शन तथा मैथिल परम्पराका ज्ञाता बलवा नगरपालिका–१० धमौराका ७० वर्षीय कामेश्वर झा बताउनुहुन्छ । पर्वका दिन विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाअर्चना उत्सवका रुपमा मनाइने मैथिल चलन छ ।
मिथिलामा यो मुख्य कृषि पर्वका रुपमा पनि स्थापित छ । यस दिनलाई कृषि वर्षको प्रारम्भका रुपमा मानिने पुरानो चलन छ । यस चलनअनुसार मिथिलामा श्रीपञ्चमीकै दिन किसानले वर्षभरि कृषि कार्यका लागि श्रमिकको निधो गर्ने र उनलाई पुज्ने परम्परा छ । किसान र श्रमिकबीच कामको र पारिश्रमिकको टुङ्गो लागेपछि श्रमिकलाई घरमा डाकेर भोजन गराइ वस्त्र र दक्षिणा दिने चलन रहेको गौशाला–४ का ७० वर्षीय रामऔतार महासेठ बताउनुहुन्छ । मिथिलामा यसै दिन किसानले बाँझो खेतमा गोरु नारेर दुई÷तीन फन्को भएपनि जोत्छन् । यस दिन किसानले वर्षभरि कृषि हराभरा होस् भन्ने कामना गर्छन् । श्रीपञ्चमीका दिन खेत जोतिँदा गोरु, श्रमिक र खेत तीनै कुराबाट फलिफाप हुने जनविश्वास छ ।
यसै दिन कृषिज्यावल (कुटो, कोदालो, बञ्चरो, हँसिया, कँचिया, खुर्पी, हलो, फाली) उध्याउने,मर्मत गर्ने र नयाँ बनाउने कामका लागि लोहार (यससम्बन्धी काम गर्ने मिथिलाको जातिविशेष) तय तमन्ना गर्ने परम्परा छ ।
श्रीपञ्चमी मिथिलामा ऋृतु परिवर्तनको पर्व समेत मानिन्छ । श्रीपञ्चमीसँगै वसन्त ऋतु सुरु हुने मान्यताले यस दिन मान्यजनबाट अबिर लगाएर आशिर्वाद लिने मैथिल परम्परा छ । यसलाई वसन्त उत्सवको प्रतीक मानिन्छ । मिथिलामा वसन्त उत्सवको परम्पराअनुसार श्रीपञ्चमीकै दिनदेखि बस्तीबस्तीमा ‘जोगिरा’ (फागुगीत) गाउन थालिन्छ । फागुन पूर्णिमाका दिन रङ् र अबिर खेलेपछि यो उत्सव समापन हुने चलन छ । यद्यपि पछिल्ला केही वर्षयता पुराना ‘जोगिरा’ गाउने ‘गवैया’ ९गीत गाउने समूह० लोप हुँदै गएको छ ।
मिथिलामा श्रीपञ्चमीका दिन देवी सरस्वतीको मात्र नभएर शिव आराधना पनि सुखदायक मानिन्छ । यसै विश्वासले श्रीपञ्चमीका दिन शिवालयमा जल, पूmल र गाईको दूध चढाउने मैथिल परम्परा छ । साउनको सोमबार र महाशिवरात्री झैं श्रीपञ्चमी पर्वमा मैथिल टाढाटाढाका शिवालयमा तीर्थाटनका लागि जाने चलन रहेको मटिहानी–७ स्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ ९संस्कृत क्याम्पस० का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।






