मनोज माझी
राजविराज, चैत २० । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले बंशवादको शासन जनातालाई स्वीकार्य नहुने बताउँदै जनताकै आन्दोलनले हटाएको राजतन्त्र मुलुकमा पुनस्र्थापना सम्भव नहुने कुरा बताएका छन् ।
बुधबार नेकपा एकीकृत समाजवादी सप्तरीको १०औं जिल्ला अधिवेशनको राजविराजमा उद्घाटन पश्चात संचारकर्मीहरु संग कुरा गर्दै उनले यस्तो बताएका हुन् । राजलाई राजनीति गर्ने मन भए मौजुदा व्यवस्थानुसार पार्टी खोलेर निर्वाचनमा भाग लिई बहुमत ल्याएर आफ्नो नीति तथा कार्यक्रम लागु गर्न सक्ने बाटो खुल्ला रहेको बताउँदै उनले वंशवादको विगत तर्फ फर्किन सम्भव नरहेको जिकिर गरे ।
शाहवंशीय राजतन्त्रकै क्रममा मुलुकमा जहानियाँ राणाहरुले पनि शासन गरेको भन्दै उनले वंशवादको शासनको नाउँमा के फेरी जंगबहादुरलाई ल्याउने ? भन्दै प्रश्न गरे ।
नेपालमा वंशका आधारमा निरंकुश शासन गर्ने प्रणाली सदाका लागि अन्त्य भएको दावीका साथ उनले राजतन्त्रकालमा भएको दमनको भुक्तभोगी आफू समेत भएको र दमनको जम्मै कुरा नेपाली जनतालाई पनि अझै याद रहेको बताए । आफू समेत पुर्वराजा ज्ञानेन्द्रबाट दुःख पाएको स्मरण गर्दै उनले मोवाईल खोसी, सम्पर्क विहिन बनाई र घरमा नजरबन्द राखेको अनुभव समेत सुनाए ।
मानवको विकल्प दानव नभए जस्तै लोकतान्त्रिक व्यवस्थाको विकल्प निरंकुश र निरंकुश र क्रुर राजतन्त्र शासन हुन नसक्ने उनको भनाई थियो ।
उनले पछिल्लो समय काठमाण्डौमा भएको राजावादी आन्दोलनलाई अराजक गतिविधको संज्ञा दिदै अराजक समूहले आफूहरुको पार्टी कार्यालयमा तोडफोडका साथै सम्पति लुटपाट गरेको आरोप समेत लगाए ।
यसअघि नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा आयोजित उद्घाट्न समारोहमा केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, प्रदेश सांसद एवं पुर्व मन्त्री गोविन्द न्यौपाने, मधेश प्रदेश अध्यक्ष एवं पोलिट व्युरो सदस्य रामचन्द्र यादव, प्रदेश सचिव एवं पोलिट व्युरो सदस्य सुधिर साह, महिला नेतृ एर्व पोलिट व्युरो सदस्य उषा पोखरेल, पार्टीका प्रचारप्रसार विभागका केन्द्रिय खतिवडा, नेपाल रेल्वेका महाप्रबन्धक निरंजन झा लगायतको उपस्थिति रहेको थियो ।
बुधवार नै अध्यक्ष एवं पुर्व प्रधानमन्त्री नेपालले जिल्ला समन्वय समितिको सभाकक्षमा सभापति शिवनारायण साहको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर जिल्लाको समग्र सुरक्षा अवस्था, राजावादीको गतिविधि तथा सिमा क्षेत्रका सुरक्षा चुनौती लगायतका विषयमा आवश्यक जानकारी समेत लिएका छन् ।






