जनकपुरधाम, चैत २२ । रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख बसन्त लाल कर्णले शैक्षिक अवस्था धारासायी बन्दै गएको क्याम्पसलाई ट्रयाकमा ल्याउन खोज्दा शैक्षिक माफियाहरु आफूमाथि दुव्र्यवहारको प्रयास गरेको बताएका छन् ।
विज्ञान ब्लकको निरीक्षण गरी विहीवार फर्किदै गर्दा क्याम्पस प्रमुख माथि कालोमोसो गर्ने प्रयासको घटना शैक्षिक माफियाहरुको योजना तहत भएको उनले बताएका छन् ।
राराबको गुमेको शाख फिर्ता ल्याउन पठन पाठनमा नियमितता, परीक्षालाई मर्यादित र आन्तरिक प्रशासनलाई चुस्त दुरुस्त बनाउने प्रयास थाले पछि क्याम्पस भित्रकै केही तत्व र बाहिरका शैक्षिक माफियाहरुले पटक पटक अवरोध गर्ने प्रयास गर्दै आएको उनको कथन छ ।
आंशिक प्राध्यापकहरुलाई व्यवस्थापन गर्ने अदालतको आदेशानुसार आफूले बढाएको प्रक्रिया, परीक्षा कोठामा जडान गरिएको सिसिटिभी क्यामरा र लेखा शाखामा हुदै आएको अनियमितता रोक्ने प्रयास गर्दा राजनीतिक समूहको आडमा क्याम्पसलाई अस्तव्यस्त बनाउने प्रयास भइ रहेको उनको कथन छ ।
विहीवारको घटनामा क्याम्पसकै केही कर्मचारी र विद्यार्थीको सहभागिता रहेको बताउदै कर्णले संलग्न मध्ये एक जना पक्राउ भई सकेको र अन्यको खोजी भई रहेको समेत बताए ।
क्याम्पसको शैक्षिक अवस्थामा सुधार ल्याउन नदिई अस्तव्यस्त बनाउन चाहने समूहको मनोकांक्षा आफूले कुनै पनि हालतमा पुरा हुन नदिने दावी समेत उनले गरेका छन् ।
राराबमा हुने नियमित कामकारवाहीमा समेत यहाँका केही शैक्षिक माफियाहरु हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै राराब कलेज लयमा फर्केपछि यहाँका धेरै शैक्षिक माफियाहरुको पसल बन्द हुने दावी गरे । उनले भने–‘राराब कलेजलाई ध्वस्त पार्ने को हो भने सवैलाई थाहा नै छ । राम स्वरुप राम सागर जीले यहाँका शैक्षिक क्षेत्रमा गरेको योगदानलाई ध्वस्त पारि आफ्नो बच्र्चस्व स्थापित गर्न उनी उद्धत रहेको छ ।’
यहाँका एक कलेजले पटक पटक राराब क्याम्पसको मात्रै नभई राजर्षि जनक विश्वविद्यालयमा समेत हस्तक्षेप गर्ने गरेका पाइन्छ ।उनी केही शिक्षकहरुलाई प्रलोभनमा पारेर राजर्षि जनक विश्व विद्यालयमा समेत कुनै न कुनै बाहानामा शैक्षिक क्रियाकलपालाई प्रभावित पार्दै आएका छन् ।
नाम नखोल्ने शर्तमा एक शिक्षकले भने राराबमा एक दर्जन भन्दा बढी र राजर्षि जनक विश्व विद्यालयमा त्यतिकै संख्यामा विद्यार्थी नेता र शिक्षकहरु ती कलेजबाट तलव नै बुझ्ने गरेका छन् । उनकै इसारामा यि दुवै ठाउँमा आन्दोलन लगायतका शैक्षिक क्रियाकलाप प्रभावित हुने खालको काम हुने गरेको छ ।




