जनकपुरधाम, चैत ३१ । जनता समाजवादी पार्टी नेपाल धनुषाको जिल्ला अधिवेशनको तिथि नजिकीदै जाँदा अध्यक्षमा कडा प्रतिस्पर्धाको सम्भावना बलियो बन्दै गएको छ।
अध्यक्षका आकांक्षीहरुले आफनो गतिविधि तीब्र पार्दै मतदाता रिझाउने अभियान शुरु गरि सकेका छन । बैशाखको दोस्रो साता हुने अधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष पशुपति यादव, संगठन विभाग प्रमुख शत्रुधन यादव र सचिव वरुण यादवले अनौपचारिक उम्मेदवारी घोषणा गरे लगतै मुखियापट्टी मुसरहनीया गापाका अध्यक्ष जयकुमार यादव पनि मैदानमा उत्रिएका छन । जयकुमार यादव मैदानमा उत्रिएपछि अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
वर्तमान अध्यक्ष यादव दुई कार्यकाल अध्यक्ष पद चलाई सकेका छन भने शत्रुधन यादव पछिल्लो अधिवेशनमा दोस्रो स्थानमा रहेका थिए । भने जय कुमार यादव उदयिमान नेताको रुपमा रहेको छ। जिल्लामा सबै भन्दा बढी क्रियाशिल सदस्य रहेको मुखियापट्टी मुसहरनीयाको मतले ठुलो भूमिका निर्वाह गर्ने भएकाले समेत जयकुमारको उम्मेदवारी अध्यक्षीय प्रतिस्पर्धालाई रोचक बनाउने निश्चत भएको छ ।
यता जनकनन्दी गापाको अध्यक्ष दिपीन देव यादवले समेत अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । जिल्ला अधिवेशनको मिति घोषणा नभए पनि वैशाखको दोस्रो साता अधिवेशन गराउने तयारी भै रहेको जिल्ला अध्यक्ष पशुपति यादवले जनाएका छन । अधिवेशन करिब ३ सय प्रतिनिधि सहभागी हुने छन ।






