मलंगवा, बैशाख ७ । सर्लाहीमा सवारी दुर्घटनामा परेर मृत्यु तथा गम्भीर घाइते हुने दर घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको नौ महिनालाई तुलना गर्दा यहाँ सवारी दुर्घटनाबाट मृत्यु र गम्भीर घाइते हुने दर घटेको पाइएको हो ।
तथ्याङ्कअनुसार सवारी दुर्घटनाको सङ्ख्या सामान्य बढे पनि मृत्यु र गम्भीर घाइते हुने दरमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक रजोस घिमिरेले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत मसान्तसम्म सर्लाहीमा ६२२ सवारी दुर्घटनामा परेर ३७ जनाको मृत्यु, ३८८ जना गम्भीर घाइते तथा ७१३ जना सामान्य घाइते भएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०र८१ को यही अवधिमा ५०२ सवारी दुर्घटनामा परेर ५२ जनाको मृत्यु, ४९० जना गम्भीर घाइते र ३३७ जना सामान्य घाइते भएका थिए ।
अघिल्लो आर्थिक वर्षको चैत महिनासम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या २८ प्रतिसतले कमी आएको पाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी साधनको सङ्ख्या बढेको र धेरै सडक पिच भएकाले दुर्घटनाको सङ्ख्या सामान्य बढे पनि मृत्यु र गम्भीर घाइते हुने दर भने कम भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले नौ महिनाको अवधिमा एक हजार ५२० जनचेतनामूलक कार्यक्रम गर्दा ८३ हजार ७८५ जना लाभान्वित भएका छन् । ट्राफिक नियम पालना गराउन र दुर्घटना न्यूनिकरण गर्न ‘अन द स्पोर्ट अवारनेस प्रोगाम’, यान्त्रिक परीक्षण, सवारी चेकजाँच, सडक प्रयोगकर्ता र दुुई पाङ्ग्रे सवारी चालकसँग दुुई मिनेट कार्यक्रम, विद्यार्थीलाई ट्राफिक सचेतना, चालक तथा सह–चालकको आँखा परीक्षण, उखु बोकेका सवारीमा टल्कने ब्यानर झुन्ड्याउने, ट्राफिक सचेतनामूलक स्टल प्रदर्शनीजस्ता कार्यक्रम गरिएको ट्राफिक प्रहरी निरीक्षक घिमिरेले बताए ।
इन्स्पेक्टर घिमिरेका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका १५ हजार ५२४ सवारीलाई कारवाही गरी एक करोड ५५ लाख ५७ हजार रुपियाँ राजस्व समेत सङ्कलन गरिएको छ ।






