राजविराज, बैशाख १५ । मोवाईलमा फोन आएपछि घर बाहिर निस्केको एक घण्टा नबित्दै मृत अवस्थामा फेला परेका १५ वर्षिय सहनबाज शेखका आफन्तले घटनाको सत्यतथ्य छानवीन हुनु पर्ने माग गरेका छन ।
राजविराज ६ पुर्णीपोखरी टोल निवासी सहनवाजको २ दिन अघि मृत्यु भएको थियो । शनिवार राती ९ बजे तीर उनी राजविराज ३ स्थित कल्टुदास पोखरीको डिलमा अचेत अवस्थामा रहेको भन्दै स्थानीयले खबर गरेपछी पुगेको प्रहरी टोलीले उनलाई तत्कालै उद्धार गरी गजेन्द्र नारायण सिह अस्पताल पु¥याएका थिए । जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेको थियो ।
बाहिरी चोट खासै नदेखिए पनि आईतवार पोस्टर्माटम कक्षमा राखेर परिक्षण गर्दा घाँटी र हातको भित्री भागमा चोट देखिएपछि थप परिक्षण र पोस्टर्माटमका लागी धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको डा.अमित यादवले बताए । मृतकका आमा सोनी खातुनका अनुसार घटनाका दिन राती ७ः४५ बजे तिर छोरा सहनवाजको मोवाइलमा कसैले फोन गरेका थिए । त्यस पछि “केही बेरमा आइहाल्छु” भन्दै छोरा घरबाट निस्केको उनको भनाई छ ।
राजविराज ८ स्थित पिसल्याण्ड बोडिङ्ग स्कुलमा कक्षा ८ मा अध्ययनरत छोरालाई कसैले कुटपीट गरी मारेको हुन सक्ने आशंका उनका बुवा सनावरले गरेका छन । उनले फोन गरेर बोलाउने ब्यक्तिले यस्तो अपराध गरेको हुन सक्ने भन्दै सत्यतथ्य छानवीन हुनु पर्ने माग गरेका छन । वडाअध्यक्ष शशी चौधरीले पनि सहनवाजको मृत्यु प्रकरणबारे सुक्ष्म अनुसन्धान हुनुपर्ने बताएका छन । प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले प्रारम्भिक अनुसन्धानमा कुटपीटबाट नभई लडेर उनको मृत्य भएको पाइएको बताएका छन ।
“घटनास्थल आसपासको सीसीटीभी फुटेज चेक जाँच गर्दा घटनाका बेला उनी एक्लै देखिएको र लडेर उनको मृत्यु भएको देखिएको छ, उनले भने–कसैले कुटपीट गरेको कतै देखिएको छैन । एक्कासी लडेर भुइमा बजारीएपछी घाँटी र हातमा चोट लागेको हो, उनले थपे–कसैले कुटपीट गरेको कुनै संकेत देखिएको छैन ।
यद्यपी अनुसन्धान कार्य जारी रहेको उनको भनाई छ । रातीको समयमा सहनावाजलाई मोवाइलमा फोन गर्ने ब्यक्तिको थिए ? र किन बोलाएका थिए ? भन्ने तर्फ पनि अनुसन्धान अघि बढाउनु पर्ने परिवारजनको माग छ ।






