गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु



एजेन्सी, वैशाख २२ । सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुईवटा इजरायली हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।

गाजाको उत्तरपश्चिममा तीनवटा अपार्टमेन्टमा भएको इजरायली हमलामा १५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताउनुभएको छ । उहाँका अनुसार प्रभावित हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका थिए ।

गाजा सहरको उत्तरमा रहेको बेत लाहियास्थित एक घरमा भएको आक्रमणमा थप चार जनाको मृत्यु भएको चार जना घाइते भएको जनाइएको छ । इजरायली सेनाले भने हमलाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । इजरायलले १८ मार्चमा प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमण पुनः सुरु गरेदेखि गाजा पट्टीमा निरन्तर हमला गरिरहेको छ । इजरायलले मार्च २ देखि सबै क्षेत्रमा सहायता प्रवेश अवरुद्ध गरेको थियो । इजरायलले नाकाबन्दी र विस्फोट गाजाका बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाब दिने उद्देश्यले भएको बताइएकोे छ ।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणमा अपहरण गरिएका ५८ जना बन्धकहरू अझै पनि बन्धक जीवन विताइरहेका छन् । बन्दकमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ । एएफपीका अनुसार हमासको आक्रमणमा अधिकांश नागरिकसहित इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको थियो ।

इजरायली सेनाको जवाफी कारबाहीमा गाजामा कम्तिमा ५२ हजार ५३५ जनाको मृत्यु भएको हमासद्वारा नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख २२, सोमवार १६:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको