ओम प्रकाश यादव
रौतहट, जेठ २ । रौतहटका सुरक्षा निकाय र जिल्ला समन्वय समितिको संयुक्त टोलीले शुक्रबार जिल्लाको बागमती नदीको अवैध उत्खनन बारे स्थलगत अनुगमन गरेको छ।
अनुगमन टोलीले गढीमाई नगरपालिकाको बलुवा घाटबाट अवैध नदी उत्खनन गर्दै गरेका एक जेसिबि नियन्त्रणमा लिएको छ। उक्त स्काभेटर हाल सशस्त्र प्रहरी बलको कार्यालय समनपुरको नियन्त्रणमा रहेको छ ।
बागमती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थहरु ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन भइरहेको तथा तोकिएको भन्दा बढी उत्खनन भएको गुनासो आएपछि जिल्ला समन्वय समिति रौतहट, जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना लगायतको टोलीले आज नदी अनुगमन गरेको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या प्रसाद यादव, नेपाल प्रहरीका रौतहट प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरी, सशस्त्र प्रहरी रौतहट प्रमुख वसन्त थापा, राष्ट्रिय अनुसन्धान विभाग रौतहटका प्रमुख अभिनय कुमार सिंह तसहितका सुरक्षा पदाधिकारी तथा अनुगमन समितिले जिल्लाका खोलाजन्य पदार्थको उत्खनन, निकासी तथा क्रसिङ हुने प्रमुख स्थानको स्थलगत अनुगमन गरेको छ।
समन्वय समितिका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुको संयुक्त अनुगमन टोलीले वृन्दावन नगरपालिकाको बागमती नदीको रमौली, विश्रामपुर, हरैया पल्टुवा, गढिमाई नगरपालिकाका समनपुर लगाएत विभिन्न घाटहरुको स्थलगत अनुगमन निरीक्षण गरेको हो ।
स्थानीय तहहरूको सिमाना तथा क्षेत्राधिकारमा पर्ने नदीबाट नदीजन्य पदार्थ बालुवा, गिट्टी, ढुंगा, ग्रेबल निकाल्न लगाइएको ठेक्काअनुरूप ठेक्का सकार गरेका व्यवसायीले वातावरणमा प्रभाव नपर्ने गरी कार्य गरेका छन् वा सो विपरीत कार्य गरिरहेको सन्दर्भमा जिल्ला अनुगमन समितिका पदाधिकारीबाट बागमती नदीको संयुक्त अनुगमन निरीक्षण गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० विनोद कुमार खड्काले बताएका छन्।
अनुगमनको क्रममा संयुक्त अनुगमन टोलीले नियम विपरीत नदीजन्य पदार्थ उत्खनन नगर्न सम्बन्धित व्यक्तिलाई सचेत गराएको सीडीओ खड्काले बताए।
वातावरणमा प्रतिकूल असर नपर्ने गरी नदीजन्य वस्तु निकाल्न आग्रह गर्दै टोलीले नियम कानुन विपरीत नदी दोहन गरेको पाइए कडा कार्यवाही गर्ने चेतावनी दिएको सिडिओ खड्काले बताए।
खोलाको दोहन नियन्त्रण गर्न हामी सबै सरोकारवालाले कडाइका साथ लाग्नुपर्ने तथा अवैध रुपमा भइरहेको नदी, खोलाको दोहन रोक्न सम्बन्धित निकायलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए।
क्रसर उद्योगमा यसरी अवैध रुपमा राखिएको नदी जन्य पद्धार्थको स्रोत खोज्न, त्यसको स्टकसहितका भ्याट हेर्न सम्बन्धित निकायलाई निर्देशन गर्दै नदी, खोला प्रति नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निगरानी राख्न पनि निर्देशन दिइएको उनले बताए।
व्यवसायीले सकार गरेको मापदण्ड विपरीत खोलाको धारलाई परिवर्तन हुने, मानव बस्तीलाई जोखिममा पार्ने, बाँधलाई असर पर्ने खालको मेसिन लगाएर उत्खनन गरिएको पाइएमा कानुनबमोजिम कारबाही हुने रौतहटका प्रहरी उपरिक्षक नेत्र मणि गिरीले बताएका छन् ।
जति परिमाणमा उत्खनन गर्न ठेक्का साकार गरिएको छ त्योभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरेमा कारबाहीको भागी हुनुपर्ने भएको हुँदा सबैमाथि विचार पुर्याएर मात्रै उत्खनन गर्न सुझाव व्यवसायीलाई दिएको एसपी गिरीले बताए।
नदीजन्य वस्तु निकासी गर्दा प्रयोग गरेको बाटो बिग्रेमा व्यवसायी स्वमले मर्मत गर्नुपर्ने र विवादरहित ढंगबाट पारदर्शी रूपमा स्थानीय तहले ध्यान दिएर काम गराउन स्थानीय तहसँग आग्रह गर्दै विकास निर्माणको कार्य वा अन्य प्रयोजनबाहेक भण्डार गर्ने कार्यमा समेत स्थानीय तहले रोक लगाउनुपर्ने उनले बताए।
स्थानीय तहबाट ठेक्का सम्झौता गरी अनुमति पाएको स्थानभन्दा अन्य स्थानमा अवैध तरिकाले कसैले खोला दोहन गरेको पाइए कडा कार्यवाही गरिने एसपी गिरीले चेतावनी दिए।
रौतहट जिल्ला अनुगमन समितिले बागमती खोलाको अनुगमन गरेर नदीजन्य पदार्थको अवैध उत्खननबारे बुझ्ने काम गरेको जनाएको छ ।
अनुगमनका क्रममा देखिएका केही कमी कमजोरीका विषयमा ठेकेदारलाई सचेत गराई कानुन अनुसार उत्खनन् र संकलन गर्न निर्देशन दिइएको जिल्ला समन्वय समिति रौतहटका प्रमुख तथा अनुगमन समितिका संयोजक राम अयोध्या प्रसाद यादवले बताएका छन्।
जिल्लाका विभिन्न नदी र खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन्को नियन्त्रण तथा नियमन गर्नका लागि अनुगमनको कार्य नियमित रुपमा भइरहेको समन्वय समितिका सभापति यादवले बताए।
वर्षौ वर्षदेखि नियमति ठेक्का नलागेको रौतहटको बागमती नदीबाट नदीजन्य पदार्थको अनियमित दोहन गरी नदीजन्य पदार्थ उद्योगमा थुपार्ने र बढी मूल्यमा बिक्री गर्ने परिपाटी बढेको गुनासो आएपछि त्यस कार्यलाई रोक्न जिल्ला सुरक्षा समितिले कडा निगरानी थालेको छ।
अवैध तरिकाले नदी दोहन गरी अर्थात् नदीजन्य पदार्थ उत्खनन गरी क्रसर उद्योगमा भण्डारण गरेर राख्ने र चर्को मूल्यमा बिक्री गर्ने क्रम बढेपछि रौतहटका सुरक्षा निकाय र जिल्ला समन्वय समितिले अवैध नदी उत्खनन कार्य रोक्न अनुगमन निरीक्षण गर्न थालेका छन्।







