सर्लाही, जेठ ४ । सर्लाहीमा विवाहका लागि गरगहना बनाउने विषयमा सामान्य विवाद हुँदा एक पक्षले अर्को पक्षलाई सुंगुरको खोरमा बाधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ । जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने तश्लिम अंसारीलाई सुंगुर बस्ने खोरमा थुनेर कुटपिट भएको छ ।
तश्लिम अंसारीको छोरीको बिवाहका लागि गरगहना बनाउने विषयमा शनिवार बिहान १० बजेको समयमा स्थानीय सुनचाँदी पसले राजिन्द्र साह सोनारसँग वादविवाद र धक्कामुक्की भएको थियो । घटना भएको केहि समयमै सुनचाँदी व्यवसायी सोनारले स्थानीय केही व्यक्तिलाई लगाएर तश्लिम अंसारीलाई सुंगुर बस्ने खोरमा थुनेर कुटपिट गरेको पीडितका छोरा कौशर अंसारीको अरोप छ ।
यता, घटनामा संलग्न रहेको आरोपमा सर्लाही प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्सारी, उनका दाइ महम्मद अन्सारी, राजेन्द्र साह सोनार, सोनारका छोरा कमलेश साह सोनार, राहुल कुमार महतो र पप्पु कुमार यादव रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।
डिएसपी राईले घटनाको कारण र यसमा संलग्नहरुबारे अनुसन्धान भइरहेको बताए । ‘अहिले उजुरी परेको छैन उजुरी परेपछि हामी कानूनी प्रक्रियामा जान्छौँ । अहिले अनुसन्धान चलिरहेको छ ।’ डिएसपी राईले भने, कानूनभन्दा माथि कोही छैन, कानुन उल्लङघन गर्ने कार्य कुनै पनि हालतमा स्वीकार हुँदैन ।’
राजेन्द्र साह सोनारले तश्लिमको सम्धिनीले अर्हाएको भन्दै तश्लिमको घरमा पुगेर कस्तो र कति वटा सुन बनाउन दिएका छौँ भनेर देखाउन भनेका थिए । तर पछि थाहा भयो कि उनको सम्धिनीले त्यस्तो केही भनेकी थिइनन् । राजेन्द्रले बदमासी गर्न खोजेका भन्दै शनिबार बिहान गाउँमा पञ्चायत बसेको थियो । पञ्चायतमा तश्लिमले विवादको क्रममा राजेन्द्रमाथि पहिले हात हालेका थिए ।
सबैको सामने पहिले हात हालेको भन्दै विवाद भयो । गाउँलेहरु मिलेर विवाद शान्त पारे । दिउँसो राजेन्द्रको मान्छेले तश्लिमलाई जिल्ला प्रहरीमा पञ्चालयतको लागि फेरी बोलाए । प्रहरीमा पुग्दै गर्दा गेटबाटै समातेर गाउँतिर लगेर पिटेका हुन् ।






