सीटीईभीटीका सहायक निर्देशक पौडेलमाथि दुर्व्यवहार



काठमाडौं , जेठ ५। नक्कली सर्टिफिकेट बेचेको भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का सहायक निर्देशक गोविन्द पौडेलमाथि नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले कालोमोसो दलेको छ ।

बीपी कोइराला प्राविधिक शिक्षालयका प्राचार्यसमेत रहेका पौडेलले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा कार्यरत रहँदा अनुत्तीर्ण भएका विद्यार्थीलाई अवैध रूपमा उत्तीर्ण गराई नक्कली प्रमाणपत्र दिएको आरोप अखिल क्रान्तिकारीले लगाएको छ ।



संगठनको मधेश प्रदेश समितिले सार्वजनिक गरेको सात बुँदे आरोपअनुसार पौडेलले आर्थिक लाभ लिएको, परीक्षा तथा प्रमाणपत्र वितरण प्रक्रियामा व्यापक घुस लेनदेन गरेको आरोप लगाएको आइतबार कालोमोसो दलेको जनाएको छ ।

त्यस्तै हाल कार्यरत शिक्षालयमा कर्मचारी नियुक्तिमा अनियमितता गरेको र शैक्षिक माफियासँग मिलेर संस्थालाई निजी स्वार्थपूर्तिको माध्यम बनाउने गम्भीर आपराधिक घटनामा पौडेल संलग्न रहेको संगठनको भनाइ छ ।

संगठनले उक्त घटनालाई गम्भीर रुपमा लिएर पौडेललाई तत्काल निलम्बन गर्न र कडा कानूनी कारबाहीको लागि सम्बन्धित निकायसमक्ष माग गरेको छ ।

यदि यस विषयमा ढाकछोप वा संरक्षण गरियो भने संगठन अझ कडा कदम चाल्न बाध्य हुने संगठनले चेतावनी दिएको छ । उक्त संगठनले केही समयअघि परिषद्का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई समेत उनको कार्यकक्षमै कालोमोसो दलेको थियो ।

संगठनले सीटीईभीटीभित्र रहेका दलाल, माफिया र भ्रष्टाचारमा संलग्नलाई पहिचान गरी ‘सीटीईभीटी शुद्धीकरण अभियान’अन्तर्गत निरन्तर कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

कालोमोसो दल्ने कार्यमा संलग्न संगठनका सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिरहा जिल्ला अध्यक्ष रामदेव महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका आफ्ना संगठनका नेतालाई तत्काल रिहा गर्न पनि संगठनले माग गरेको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ ५, सोमबार ०७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको