योजना अधिकृतलाई कारवाही नगरे काममा नफर्किने आन्दोलनकारीको अडान



राजविराज, जेठ ९ । दुई दिन देखी काम बन्द गरी सरसफाईकर्मी आन्दोलनमा उत्रेपछी राजविराज नगरक्षेत्रको फोहर संकलन कार्य बन्द भएको छ । फोहर नउठ्दा बजारक्षेत्र दुर्गन्धीत बन्न पुगेको छ ।

गत असार महिनाको १७ दिनको बक्यौता तलब पाउनु पर्ने माग राख्दै अघिल्लो दिन विहीवार देखी राजविराज नगरपालिकाका सरसफाईकर्मीहरु काम बन्द गरी धर्नामा वसेका हुन । कार्यालयका योजना फाँटका अधिकृत मनोज यादवका कारण आफुहरुले समयमा तलब पाउन नसकेको उनीहरुको गुनासो छ ।



सरसफाईकर्मीहरु काम छाडेर आन्दोलनमा उत्रेपछि नगरक्षेत्रको फोहर मैला व्यवस्थापन गर्न समस्या उत्पन्न हुने देखेर शुक्रवार कार्यवाहक नगर प्रमुख इसरत परवीनको पहलमा कार्यपालिकाको बैठकबाट निर्णय गरि उनीहरुको बाकी तलब तत्काल भुक्तानी गरिएको छ । जसबाट आन्दोलनरत सरसफाईकर्मीहरु उत्साहित भएका छन । तर तलब पाएपनि आन्दोलनरत सरसफाईकर्मीहरुले पुनः अर्काे माग राखी धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन ।

उनीहरुले योजना शाखाका प्रमुख मनोज यादवले आफुहरुलाई समय मै तलब खुवाउन अवरोध गरेको, गाली गलौज र दुब्र्यवहार गरेको भन्दै निजलाई सरुवा गर्नू पर्ने माग राखेर आन्दोलनलाई निरन्तरता दिएका छन ।
सरसफाईकर्मी युनियनका अध्यक्ष मनोज मेहतरले योजना अधिकृतले बेलैमा तलब खुवाउन असहयोग गरेको तथा धर्नामा वस्दा आफुहरुलाई गाली बेइज्जत गरेको गुनासो गर्दै निजलाई अन्यत्र सरुवा नगरे सम्म काममा नफर्कने अडान राखेका छन ।
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले योजना अधिकृत यादव कै कारण नरपालिकामा समस्या उत्पन्न हुने गरेको सुनाईन । उनले सरसफाईकर्मी संग मात्र नभई योजना अधिकृत यादवले आफुलाई समेत गाली बेइज्जत र कार्यालयमा उपद्रव मच्चाएको बताईन ।

दुई दिन अघि अधिकृत यादवले केही बाहिरी गुण्डाहरु ल्याएर आफ्नो कार्यकक्षमा प्रवेश गरि तोडफोड र गाली गलौज गर्दै उपद्रव मच्याए पछी आफुले उनी विरुद्ध प्रहरीमा उजुरी दिएको समेत जानकारी दिइन । उनले नगरपालिकाका सरसफाइ कर्मचारी काम छोडेर आन्दोलनमा उत्रेपछी बजार क्षेत्रका फोहर उठाउन समस्या भएको भन्दै समस्या समाधानका लागी आफुहरुले आवश्यक पहल गरिरहेको जानकारी दिईन ।

उनले सरसफाईकर्मीहरुले आफुहरुमाथी दुव्र्यवहार र गाली बेइज्जत गर्ने योजना अधिकृत यादवलाई सरुवा तथा नीजले गल्ती स्वीकार गरी माफी नमागे सम्म काममा नफर्किने अडान राखेकाले समस्या थपिदै गएको बताईन । उनले नगरपालिकाको प्रत्येक फाँटमा अनावश्यक हस्तक्षेप गर्ने र वेला वेलामा उपद्रव मचाई सेवा प्रवाहलाई प्रभावित बनाउने योजना अधिकृतलाई कारवाहीका लागी सम्बन्धित निकायमा पहल भईरहेको जानकारी समेत गराएकी छिन ।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार १९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको