उपचार खर्च तिर्न नसक्दा एक महिनादेखी अस्पतालमै “बन्धक”



राजविराज, जेठ १४ । नगरपालिकाको गाडीको ठक्करबाट गम्भिर घाइते भएका एक किशोरको उपचार वापतको खर्च अस्पताललाई बुझाउन नसक्दा विगत एक महिनादेखी डिस्चार्ज हुन नपाएको भन्दै उनका आफन्त तथा स्थानीयले बुधबारदेखी राजविराज नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् ।

सप्तरीको बोदेबरसाइन नगरपालिका १ निवासी १६ वर्षिय राजेश कुमार यादव गत माघ १ गते राजविराज नगरपालिकाको स.१झ. ४८१ नं को स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका थिए । घरबाट बजारतर्फ जाँदै गरेको अवस्थामा राजविराजबाट जनकपुरतर्फ गइरहेको उक्त गाडीले ठक्कर दिँदा यादव गम्भिर घाइते भएका थिए ।



हात र खुट्टा भाचिनुका साथै टाउँकोमा गम्भिर चोट लागेका उनलाई प्रहरीले उपचारका लागि सोही दिन बिराटनगरस्थित बिराट नर्सिङ्ग होममा भर्ना गराएको थियो । बिदाका दिन जनकपुरतर्फ जाँदै गरेको सो गाडीमा राजविराज नगरपालिका वडा नं. २ का वडाअध्यक्ष अरुण यादवसहितका केही व्यक्ति सवार रहेको र यादवलाई ठक्कर दिएपछी उक्त गाडी तत्कालै त्यहाबाट भागेपनि पाँच किलोमिटर टाढा वेवारिसे अवस्थामा प्रहरीले गाडी फेला पारेको थियो ।

उक्त गाडी भने चालक बिनोद साहले चलाइरहेको नगरपालिका श्रोतले जनाएको छ । उपचारका क्रममा ९२ दिनपछी होसमा आएका छोराको उपचार वापतको २५ लाख मध्ये नगरपालिकाले अहिलेसम्म २ लाख रुँपैया मात्र दिएको बुबा रघुनाथ यादवको भनाई छ ।

२३ लाख रुँपैया थप बुझाउन नसक्दा अस्पतालले डिस्चार्ज गर्न नमानेको र बाध्य भई धर्नामा बस्नु परेको उनले सुनाए । नगरपालिकाले विभिन्न बहाना देखाउँदै थप रकम दिन आलटाल गर्ने गरेको र आफुसँग त्यत्रो ठूलो रकम तिर्ने हैसियत नहुँदा छोरालाई घर ल्याउन नसकिएको उनले लाचारी सुनाए । उनले उपचार खर्च तिर्न नसक्दा छोरा अस्पतालमा “बन्धक” बनेको भन्दै नगरपालिकाले उपचार खर्च नतिरेसम्म धर्ना जारि राख्ने अडान समेत व्यक्त गरेका छन् ।

बोदेबरसाइन नगरपालिकाबाट बालकका आफन्तसहित करिब सय जनाको संख्यामा आएका स्थानीयले मूल गेटमै धर्ना कार्यक्रम सुरु गरेका छन्। लगातार पाँच दिनदेखी विभिन्न माग राखी सरसफाईकर्मीले काम छाडेर नगरपालिकामा सुरु गरेको धर्ना कार्यक्रम फिर्ता लिएको दुई दिन नबित्दै पुनः अर्को पीडित पक्षले धर्ना सुरु गरेपछी नगरपालिकाको सेवा प्रवाहामा समस्या उत्पन्न भएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार १९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको