काठमाडौँ, जेठ १९ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुको ज्यादती अब सह्य नहुने चेतावनी दिएका छन्।
संसदीय दलको बैठकमा सोमबार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उनले यस्तो चेतावनी चेतावनी दिएका हुन्। उनले अहिले केही नपाएर अब गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताए।
उनले गृहमन्त्रीमाथि कुनै तथ्य, प्रमाण नरहेको भए पनि एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो भनेको भरमा राजीनामा मागेर संसद अवरुद्ध गर्न नहुने बताए।
गृहमन्त्रीमाथि रिस उठेको भरमा राजीनामा मागेर विपक्षी दलहरु ज्यादती गरेको उनले स्पष्ट पारे। मंगलबारको संसद्मा विपक्षी राजनीतिक दलहरुले विरोध जनाए पनि कारबाही अघि बढ्ने उनको भनाइ थियो।
उनले भने, ‘अहिले केही नपाएर अब गृहमन्त्रीको राजीनामारु केही तथ्य, केही प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्छ। केहीले छोएको छैन, केही भएको छैन, एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे, भनेका भरमा के सोध्यो पनि थाहा छैन। बयान लिएको छैन। त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ, गृहमन्त्री त्यसकारण राजीनामा गर्नुपर्छ, यस्ता कुराले संसद अवारोध हुँदैन। म स्पष्ट भन्न चाहन्छु। तपाईंहरु मेण्टल्ली तयार भएर बस्नुस्। यसरी संसद् अवरोध हुँदैन।’
प्रधानमन्त्री ओलीले संसद् अवरोध खुलाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खोजे पनि उनलाई कतै पनि भेट्न नपाइएको बताए। ‘उहाँ कतै पनि भेटिनुभएको छैन,’ ओलीले भने।




