जनकपुरधाम, जेठ २१ । पाँच मिनेट भित्रै मधेश प्रदेश सभाको बैठक स्थगित गरिएको छ । मधेश प्रदेश सभाको पाँचौ अधिवेशनको पहिलो बैठक आजकोलागि बोलाइएको थियो ।
सभामुख रामचन्द्र मण्डलले बैठक शुरु भएको घोषणा गरे लगतै मधेश प्रदेश सरकारका प्रमुख प्रतिपक्षी दलका नेताहरुले गत चैत २७ गते सदनमा चौथो अधिवेशनको २२ औंं बैठकमा सरकारद्वारा आर्थिक अनुशासनको खुलेआम उल्लंघन सम्वन्धमा संसदीय छानवीन समिति गठन गर्नुपर्ने माग गरेका थिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक राम अशिष यादवले सरकारलाई ट्रयाकमा ल्याउनुपर्ने उत्तरदायित्व सदनको रहेको सभामुख रामचन्द्र मण्डलालाई स्मरण गराउँदै सभामुख मण्डलकै अध्यक्षतामा बसेको बैठकवाट सरकारद्वारा खुलेआम आर्थिक उल्लंघनको छानवीन गर्ने सम्वन्धमा छानवीन समिति गठन हुनुपर्ने निर्णय भए पनि अहिले सम्म हुन नसक्नुले आर्थिक अनुशासन कायम गर्न नचाहेको आरोप लगाएका थिए ।
सर्वदलिय बैठकवाट छानवीन गर्ने निर्णय सभामुखकै अध्यक्षतामा बसेको बैठकले गरेको स्मरण गराउँदै प्रमुख सचेतक यादवले करिव एक महिना २४ दिन पछि पनि संसदीय छानवीन समिति गठन गर्न नचाहेको आरोप लगाउँदै समिति गठन गर्न दववा दिएका छन् । प्रमुख सचेतक यादवले भने–‘प्रतिपक्षले नाम सदनमा बुझाई सक्दा पनि संसदीय छानवीन समिति गठन गर्न सरकार अनाकानी गर्नुको मतलव सरकार सदन प्रति उत्तरदायि नरहेको स्पष्ट भएको छ ।’ सरकार प्रदेशमा थप आर्थिक अनुशासन कायम नहुनु चाहिरहेको प्रमुख सचेतक यादवले आरोप समेत लगाए ।
सभामुखको निर्देशनलाई सरकारले अव्हेलना गरेको टिप्पणी गर्दै प्रमुख सचेतक यादवले प्रतिपक्ष संसदीय छानवीन समिति गठन हुनुपर्ने चाहेको बताएका थिए । संसदीय छानवीन समिति गठन नहुँजेल प्रतिपक्ष सदन अवरुद्ध गर्दै रहने चेतावनी दिँदै प्रमुख सचेतक यादवले संसदीय छानवीन समिति गठन नहुँजेल सदन स्थगित गरिदिन सभामुख संग उनले आग्रह गरेका थिए ।
सभामुख मण्डलले आफूहरुले करिव करिव तीन घण्टा लगाएर यस विषयमा आजै छलफल गरेको तर निष्कर्ष निस्कन नसकेको जानकारी गराउँदै प्रदेश सभाको अर्को बैठक भोली दिनको १ बजे बस्ने गरी स्थगित गरिएका थिए ।






