सांसद ठाकुर, पूर्व अध्यक्ष यादव सहित १७ जना विरुद्ध मुद्दा दायर



जनकपुरधाम, जेठ २७ । मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुर, औरही गाउँपालिकाका पूर्व अध्यक्ष व्रम्हदेव यादव सहित १७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही गाउँपालिकामा निर्माण भएको १५ शैयाको अस्पतालको टेण्डर प्रक्रियामा अनियमितता गरेको भन्दै कन्सट्रक्सन कम्पनीका प्रवन्ध निर्देशक प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर, पूर्व अध्यक्ष व्रम्हदेव यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोध ठाकुर सहित १७ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार कन्सट्रक्सन कम्पनी, गाउँपालिकाका तत्कालीन अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतका वडाध्यक्ष र कर्मचारीहरुको मिलिमतोमा औरही गाउँपालिका–२ देउरी परवाहामा १५ शैय्याको अस्पताल निर्माणमा ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ ९८ पैसा भ्रष्टाचार गरेको दावी सहित मुद्दा दायर गरिएको छ ।

आर्थिक वर्ष २०७७\०७८ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रम अन्तर्गत स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम बमोजिम धनुषाको औरही गापा–२ देउरी परवाहामा १५ शैय्या अस्पताल निर्माणकालागि २४ करोड ४३ लाख ५२ हजार ६५० बराबरको लगत अनुमान तयार भई बोलपत्र आह्वानको सूचना २०७८ बैशाख १७ मा प्रकाशित भएको थियो । प्रकाशित बोलपत्र २०७८ जेठ १६ गते रहेकोमा उनीहरुको मिलिमतोमा बदनियत राखि सोहि मितिमा कि एक्टिभिटिज मा संसोधन गरी विपरण समेत परिवर्तन गरी म्याद जेठ २३ गते सम्म रहने गरी ७ दिनको म्याद थप गरेको अख्तियारको अनुसन्धानमा देखाइएको छ ।

७ दिन म्याद थप गरेकोमा पुनः बोलपत्र पेश गर्ने समय जेठ ३१ सम्म रहने गरी ७ दिनको म्याद थप गरेको अख्तियारले जनाएको छ । यरी कि एक्टिभिटिज मा परिवर्तन\शंसोधन गरी १५ वटा बोलपत्रदाताहरु मध्ये १३ वटा वोलपत्रदाताहरुको बोलपत्रलाई प्राविधिक मुल्यांकनमा असफल गरेर प्राविधिक मुल्यांकनमा सफल भएको भन्दै लुम्विनी÷डि.एण्ड एन. जे.भी र समानन्तर\बबुल जे.भी.ले दोस्रो पटक म्याद थप भएको अन्तिम समयमा जेठ ३० गते बोलपत्र पेश गरे गराएको अख्तियारको अनुसन्धानमा देखाइएको छ ।

सवै भन्दा कम १२ करोड ३५ लाख ५० हजार २४८ रुपैयाँ ८५ पैसा पेश गर्ने बोलपत्रदाता प्रतिष्ठा\धुलिखेल\एक्सिस एसियन जे.भी.लाई बोलपत्रमा उल्लेख भएको कि एक्टिभिटिज कारण प्राविधिक मुल्यांकनमा फेल गरी उक्त रकम भन्दा बढी रकम १९ करोड १४ लाख ६२ हजार ६३२ रुपैयाँ ८३ पैसा कवोल गर्ने लुम्विनी\डि. एण्ड एन. जे.भी. लाई छनोट गरे गराएर ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ ९८ पैसा हिनामिना हानिनोक्सानी तथा दुरुपयोग गरे गराएको पुष्टि भएकोले आरोप पत्र दायर गरिएको अख्त्यिारले जनाएको छ ।
क–कसमाथि भयो आरोपपत्र दायर

औरही गाउँपालिकाका पूर्व अध्यक्ष ब्रम्हदेव यादव माथि ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ ९८ पैसा विगो सहित आरोप पत्र दायर गरिएको छ । उनीमाथि विगो जरिवाना र कैद माग दावी गरिएको छ । त्यस्तै तत्कालीन उपाध्यक्ष मिरा देवी सहित विरुद्ध समेत अध्यक्ष सरह नै माग दावी गरिएको छ ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर विरुद्ध पनि सोही कैद सहित विगो असुल उपर माग दावी गरिएको छ । औरही गाउँपलिकाका तत्कालिनका वडा नम्वर १ का वडाध्यक्ष आशेश्वर यादव, २ का अमितकुमारयादव, ३ का गंगा प्रसाद यादव, ४ का शिवनाथ साह, ५ का प्रमेश्वर कुमार मण्डल, ६ का दीलिपकुमार साह विरुद्ध पनि ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैया विगो असुल सहित कैद सजाय माग दावी गरिएको छ ।

त्यस्तै सोही गाउँपालिकाका तत्कालीन इन्जिनियर सोनु साह, सव–इन्जिनियर सन्तोष कुमार मण्डल, सव–इन्जिनियर विनितकुमार साह, तत्कालीन खरिदार मोहनकुमार मण्डल, खरिदार मनोजकुमार यादव विरुद्ध पनि कैद सजाय र विगो बमोजिमको माग दावी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोप पत्रमा दीपेन्द्र ठाकुर सहित सोही कम्पनीका तत्कालीन प्रवन्ध निर्देशक विष्णु प्रसाद शर्मा विरुद्ध पनि सोही विगो र कैद सजाय माग दावी गरिएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार १९:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको